काठमाडौं । युएफा कन्फरेन्स लिगको उपाधि इंग्लिस क्लब चेल्सीले जितेको छ । पोल्यान्डमा गएराति सम्पन्न फाइनलमा स्पेनिस क्लब रियाल बेटिसलाई ४-१ को फराकिलो अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो ।
पहिलो हाफमा १ गोलले पछाडि परेको अवस्थाबाट पुनरागमन गरेको चेल्सीले दोस्रो हाफमा शानदार प्रदर्शन गरेको थियो । युवा स्टार कोल पाल्मरले सानदार प्रदर्शन गरेपछि चेल्सी च्याम्पियन बनेको हो । खेलअघि दुबै क्लवका समर्थकबीच झडप हुँदा प्रहरीले बल प्रयोग गर्नु परेको थियो ।
खेलको नवौं मिनेटमा बेटिसका लागि अब्दे एजल्जुलीले गोल गर्दै स्पेनिस टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा चेल्सी निराश देखिएपनि दोस्रो हाफमा भने पूर्णरूपमा हावी भयो ।
दोस्रो हाफमा कोल पाल्मरले पाँच मिनेटको अन्तरालमा दुई उत्कृष्ट असिस्ट गरेपछि चेल्सीले कमब्याक गर्यो । ६०औं मिनेटमा पाल्मरको पासमा इन्जो फर्नान्डेजले गोल गरे ।
७०औं मिनेटमा पाल्मरकै सहयोगमा निकोलस ज्याक्सनले गोल गरेपछि चेल्सीले अग्रता बनायो । ८३औं मिनेटमा जाडोन सान्चो र अतिरिक्त समयको पहिलो मिनेटमा मोइसेस काइसिडोले गोल गरेपछि चेल्सी ४-१ को जित सहित च्याम्पियन बन्यो ।
२३ वर्षीय पाल्मरको सानदार प्रदर्शनका कारण उनी 'प्लेयर अफ द म्याच' घोषित भए । यस जितसँगै चेल्सी युएफाका सबै तीन प्रमुख क्लब प्रतियोगिता जित्ने पहिलो क्लब बनेको छ ।
चेल्सीले यसअघि २-२ पटक च्याम्पियन्स लिग र युरोपा लिग जितिसकेको छ । साथै उसले कप विनर्स कप पनि आफ्नो नाममा गरिसकेको छ । चौथों स्थामा प्रिमियर लिग समाप्त गरेको चेल्सीले यस अघिनै आगामी सिजनको च्याम्पियन्स लिगमा समेत स्थान बनाइसकेको छ ।