काठमाडौं । साउदी प्रो-लिगको अन्तिम खेलमा क्रिस्टियानो रोनाल्डो र सादियो मानेले गोल गरेपनि अल नासर पराजित भएको छ ।
गएराति सम्पन्न रोमाञ्चक खेलमा अल नासर अल फतेहसँग ३-२ गोलअन्तरले पराजित भएको हो । हारसँगै अल नासर एसियाली च्याम्पियन्स लिगमा स्थान बनाउन असफल भयो ।
४२औँ मिनेटमा अल नासरले अग्रता लिएको थियो । कर्नरबाट आएको बलमा रोनाल्डोले सहज गोल गरेका थिए । यससँगै उनी सिजनको शीर्ष गोल स्कोरर बने ।
पहिलो हाफको अन्त्यतिर अल फतेका माटियास भर्गासले गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफमा सादियो मानेले गोल गर्दै फेरि अल नासरलाई अग्रता दिलाए । तर खेलको ८०औँ मिनेटमा मोराद बातनाले फ्रिकिकमार्फत् सानदार गोल गरेपछि खेल पुन: २-२को बराबरीमा फर्कियो ।
अतिरिक्त समयमा मथियस माचाडोले निर्णायक गोल गर्दै घरेलु टोली अल फतेहलाई रोमाञ्चक जित दिलाए । हारसँगै अल नासरको सिजन निराशाजनक ढंगले समाप्त भयो । उसले ३४ खेलमा ७० अंक जोड्दै तेस्रो स्थानमा रहेर लिग समाप्त गरेको हो । अल फतेह ३९ अंकसहित १०औँ स्थानमा रह्यो ।