काठमाडौं । पञ्जाब किंग्स इन्डियन प्रिमियर लिग आईपीएलको पहिलो क्वालिफायर्समा प्रवेश गरेको छ । गएराति सम्पन्न लिगको आफ्नो अन्तिम खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै पञ्जाबले शीर्ष २ मा लिग चरण समाप्त गर्ने निश्चित भएको हो ।
राजस्थानको जयपुरमास्थित सवाइमान सिंह स्टेडियममा पञ्जाबले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रनको बनाएको थियो ।
मुम्बईका ओपनर रायन रिकल्टन २७ रनमा आउट भए । अर्का ओपनर रोहित शर्माले २४ रन बनाए । विल ज्याक्स १७ रनमा आउट भए । कप्तान हार्दिक पाण्ड्या २६ र नमन धिरले २० रन बनाए ।
सूर्यकुमारले ३९ बलमा ६ चौका र २ छक्काको सहयोगमा सर्वाधिक सन्ताउन्न रनको अर्धशतकीय योगदान दिए । पञ्जाबका मार्को यानसन, अर्शदिप सिंह र विजयकुमार वैशाखले समान २-२ विकेट लिए ।
जवाफमा १ सय ८५ रनको लक्ष्य पञ्जाबले ९ बल बाँकी रहँदै ३ विकेट गुमाएर पुरा गर्यो । पञ्जाबका ओपनर प्रभासिमरन सिंहले १३ रन बनाए । प्रियान्स आर्य ६२ र जोस इङलिसले ७३ रनको अर्धशतकीय योगदान दिए । कप्तान श्रेयस अय्यर २६ रनमा नटआउट रहे । मुम्बईका मिचेल सान्टनेरले २ र जसप्रति बुमराहले १ विकेट लिए ।
लिग चरणको अन्तिम खेलमा आज रोयल च्यालेन्जर्स बैगलुरू र लखनऊ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दै छन । त्यो खेल जितेमा आरसीबी पहिलो क्वालिफायर्समा पुग्नेछ । पराजित भएमा दोस्रो स्थानको गुजरात पहिलो क्वालिफायर्समा पुग्नेछ । मुम्बईले एलिमिनेटर खेल्नु पर्नेछ ।