काठमाडौं । टेरामक्स प्रकरणमा ३ अर्ब २१ करोडभन्दा बढी भ्रष्टाचार मुद्दा दायरपछि सांसद पदबाट निलम्बित कांग्रेस नेता मोहनबहादुर बस्नेतले तामझामसहित सिन्धुपाल्चोक पुगेर खानेपानी आयोजना उद्घाटन गर्नुभएको छ । बस्नेतले जिल्लामा कार्यक्रम राख्न लगाएर प्रमुख अतिथिका रूपमा उपस्थित भई शक्ति प्रदर्शनको अभ्यास गर्नुभएको हो ।
प्रमुख अतिथि बनेर स्वास्थ्य चौकीदेखि खानेपानी उद्घाटनसम्मको कार्यक्रम लिएर बस्नेत जिल्ला आउने प्रचार प्रसार भएसँगै सिन्धुपाल्चोकका अन्य दलहरू एमाले, माओवादी साथै गाउँपालिकाले बस्नेतलाई प्रमुख अतिथिका रूपमा नआउन अनुरोध गरेका थिए । सिन्धुपाल्चोक बस्नेतको गृहजिल्ला हो ।
पालिका र अन्य दलको अनुरोधको बेवास्ता गरेका बस्नेतले मोटरसाइकल, गाडीको लावालस्कर र कार्यकर्ताको नाराबाजीसहित लिसंखुपाखर गाउँपालिका वडा नम्बर २ को निगाले नारगाउँ खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको हो । उहाँलाई कांग्रेस कार्यकर्ताले ‘मोहन बस्नेत-जिन्दावाद’ भन्दै विजयोत्सव मनाएजसरी स्कर्टिङ गरेर ल्याएका थिए ।
हिजो मात्र सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिना र लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै भ्रष्टाचारको आरोप लागेको व्यक्तिलाई प्रमुख अतिथि बनाएर कार्यक्रम नगर्न र सहभागी नगराउन आग्रह गर्नुभएको थियो ।
टेरामक्स खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै विशेष अदालतमा पूर्वमन्त्री बस्नेतसहित १६ जना र २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।