साफ यू-१९ को सेमिफाइनलबाटै बाहिरियो नेपाल, बंगलादेश फाइनलमा

जेष्ठ २, २०८२ |खेल ब्युरो
साफ यू-१९ को सेमिफाइनलबाटै बाहिरियो नेपाल, बंगलादेश फाइनलमा
तस्बिर : बंगलादेश फुटबल फेडेरेशन

काठमाडौं । नेपाल साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ । आज सम्पन्न खेलमा बंगलादेशसँग नेपाल २-१ ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

भारतको गोल्डेन जुब्ली स्टेडियममा नेपालले गोलका केही राम्रा अवसर गुमाउँदा प्रतियोगिताबाट बाहिरिनुपर्‍यो । जितसँगै डिफेन्डिङ च्याम्पियन बंगलादेशले फाइनलमा स्थान बनायो । अघिल्लो संस्करणको फाइनलमा बंगदलादेशले नेपाललाई पराजित गर्दै च्याम्पियन बनेको हो । खेलको १७ औं मिनेटमा सुवास बमको प्रहार बंगलादेशका गोल रक्षक इस्माइल हुसैनले रोकेका थिए । 

२३ औं मिनेटमा सविनकुमार लुङ्गेली मगरले फिनिस गर्न नसक्दा नेपालले गोल गर्ने अवसर खेर फाल्यो । ३० औं मिनेटमा सुवासले नै बक्स बाहिरबाट प्रहार गरेको शक्तिशाली प्रहार दोस्रो बारमा लाग्दा नेपाललाई भाग्यले साथ दिएन । पहिलो हाफको अतिरिक्त समयमा सुवासको पासमा धर्मेन्द्र कुँवरको हेडर प्रयास कनेक्ट हुन सकेन । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३ औं मिनेटमा बंगलादेशले डेडलक तोड्यो । 

कप्तान नजमुल हुडाको कर्नरमा आशिकुर रहमानले सहजै फिनिस गरे । ८० औं मिनेटमा बंगलादेशले दोस्रो गोल थप्यो । बक्सभित्र नेपाली खेलाडीबीच तालमेल हुन नसक्दा मिथु चौधरीको पासमा नजमुलले गोल गरे । ८७ औं मिनेटमा नेपालले पुनरागमनको प्रयास गर्‍यो । सविनकुमार लुङ्गेली मगरको पासमा सुजन डंगोलले गोल गरेका थिए । तर त्यसपछि नेपालले गोल गर्न नसक्दा हारको सामना गर्यो पर्‍यो ।

नेपाल समूह 'बी' को उपाविजेता तथा बंगलादेश समूह 'ए' को विजेतामा रूपमा सेमिफाइनल प्रवेश गरेका थिए । अब बंगलादेशले उपाधिका लागि आइतबार भारत र माल्दिभ्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।