लुम्बिनी । लुम्बिनी प्रदेश सरकारअन्तर्गतका सहकारी संस्थाको अनुगमन मूल्याङ्कन सुरू भएको छ ।
पहिलो चरणमा प्रदेशका ८ जिल्लाका ३ सय २० सहकारीको कार्यसम्पादन मूल्याङ्कन भइरहेको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ। त्यसका लागि मन्त्रालयअन्तर्गतका कार्यालयमा कार्यरत ५० जना कर्मचारीलाई तालिम दिएर २३ समूहमार्फत् पल्स र एमसिआई विधिद्वारा सहकारीहरूको कार्य सम्पादन अनुगमन भैरहेको मन्त्रालयले जनाएको छ ।
८ सय ४८ वटा सहकारी रहेको अभिलेख रहेपनि सबै सहकारी संस्था प्रदेश सरकारले तयार गरेको रिपोटिङ संयन्त्रमा आबद्ध नभए पछिस्थलगत रूपमै अनुगम थालिएको प्रदेशको सहकारी महाशाखाले जनाएको छ।
मन्त्रालयले ५२ सूचक राखेर सहकारी संस्थाको कार्य सम्पादन मूल्याङन र प्रकाशन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१ तयार गरेको छ। प्रदेश मातहतका सहकारीलाई व्यवस्थित गर्ने कार्यसँगै प्रदेश सरकारले स्थानीय तह मातहतका सहकारीलाई पनि व्यवस्थित बनाउन स्थानीय तहका सहकारी शाखा प्रमुखहरूको क्षमता अभिवृद्धि गर्ने भएको छ।
प्रदेशमा अहिलेसम्म २३ वटा सहकारी जोखिममा रहेको जनाइएको छ ।