एक खेल अगावै ‘बी’ डिभिजन लिगको विजेता बन्यो प्लानिङ ब्वाइज

जेष्ठ २, २०८२ |खेल ब्युरो
एक खेल अगावै ‘बी’ डिभिजन लिगको विजेता बन्यो प्लानिङ ब्वाइज

काठमाडौं । प्लानिङ ब्वाइज युनाइटेडले एक खेल अगावै शहीद स्मारक ‘बी’ डिभिजन लिगको उपाधि जितेको छ । आज भएको खेलमा प्लानिङ ब्वाइजले नयाँ बस्ती युथ क्लबलाई ५-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

प्लानिङ ब्वाइज यसअघि नै शीर्ष डिभिजनमा बढुवा भइसकेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलको ११औं मिनेटमा फागुराम थारूको गोलमार्फत प्लानिङ ब्वाइजले अग्रता लिएको थियो । २९औं मिनेटमा ओमप्रकाश चौधरीले गोल गरेपछि पहिलो हाफमै नयाँबस्ती २-० ले पछि परेको थियो । 

४७औं मिनेटमा नयाँ बस्तीका नवीन खवासले आफ्नै पोस्टमा गरे । ५५औं मिनेटमा फागुरामले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको दूरी ४-० मा पुर्‍याएका थिए । ७२औं मिनेटमा प्रतापसिंह राईको गोलसँगै प्लानिङ ब्वाइज ५-० को सहज जितका साथ लिग च्याम्पियन बन्यो ।