रुखले किचेर देशभर ४ जनाको मृत्यु, ३ घाइते

जेष्ठ २, २०८२ |जिल्ला ब्युरो
रुखले किचेर देशभर ४ जनाको मृत्यु, ३ घाइते

काठमाडौं । हावाहुरीसँगैको वर्षाले देशका विभिन्न स्थानमा जनधनको क्षति भएको छ । नवलपरासी, कपिलवस्तु र कैलालीमा गरी ४ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रको जनजीवन प्रभावित भएको छ । 

तीव्र वेगमा आएको हावाहुरीले काठमाडौं र भैरहवासहितका विमानस्थलमा हवाई उडान पनि प्रभावित भएको छ ।

भीषण हावाहुरीले रुख ढल्दा पश्चिम नवलपरासीको सुनवल-७ चारपालामा २ जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । दिउँसो आएको हावाहुरी छल्न सडकको प्रतीक्षालयमा बसेका बेला बर्रोको रुख ढलेर च्यापिँदा मिरा बयम्बु र दुर्गाबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । घाइते तीन जनाको रूपन्देहीको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।

वर्षाले सडक चिप्लो भएपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा यातायात समेत अवरुद्ध भएको छ । अहिले पूर्वतर्फ दुम्किवास र पश्चिमतर्फ बर्दघाटमा सवारी साधनलाई रोकिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी मधु नेपालले जानकारी दिनुभयो ।

यसैगरी रुखको हाँगा खसेर घाइते भएकी कपिलवस्तुको मैनिहवाकी सुखना केवटको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको कपिलवस्तुका प्रहरी प्रवक्ता डीएसपी मोहनमणि अधिकारीले बताउनुभयो ।

यस्तै कैलालीको घोडाघोडीको सुख्खडमा घर नजिकै ढलेको सालको रुखले च्याप्दा कर्ण भण्डारीको मृत्यु भएको छ । रुखले च्यापेर घाइते भएका भण्डारीको उपचारको क्रममा धनगढीस्थित अस्पतालमा निधन भएको हो ।

हावाहुरीले हवाई उडान र अवतरणसँगै यातायात र हिँडडुलमा समेत समस्या भएको छ । हावाहुरीसँगैको वर्षाले तरकारी र फलफूल खेतीमा पनि क्षति पुगेको छ ।