ज्वेरेभलाई पराजित गर्दै लोरेन्जो मुजेट्टी इटालियन ओपनको सेमीफाइनलमा

जेष्ठ १, २०८२ |खेल ब्युरो
 ज्वेरेभलाई पराजित गर्दै लोरेन्जो मुजेट्टी इटालियन ओपनको सेमीफाइनलमा

काठमाडौं । लोरेन्जो मुजेट्टी साविक विजेता अलेक्जेन्डर ज्वेरेभलाई सोझो सेटमा पराजित गर्दै इटालियन ओपन टेनिसको सेमीफाइनल प्रवेश गरेका छन ।

रोममा भएको खेलमा स्थानीय फभरेट मुजेट्टीले जर्मनीका ज्वेरेभविरूद्ध उत्कृष्ट प्रदर्शन गरे । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको पहिलो सेट टाइब्रेकरमा पुगेको थियो । पछि परेको स्थितीबाट पुनरागमन गरेका मुजेट्टीले सेट ७-६ ले आफ्नो पक्षमा पारे । 

दोस्रो सेटमा आठौं वरियतामा रहेका उनले ज्वरेभलाई ६- ४ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरे । मुजेट्टी इटालियन ओपनको पुरूष एकलतर्फको सेमीफाइनल पुग्ने केवल तेस्रो घरेलु खेलाडी हुन् । 

ज्लेरेभमाथि जित हात पार्न उनले दुई घन्टा १५ मिनेट समय खर्चिएका थिए । २३वर्षीय मुजेट्टीले अब स्पेनिस कार्लोस अल्काराजसँग प्रतिस्पर्धा गर्नेछन् । २२ वर्षीय अल्काराजले क्वाटरफाइनलमा ब्रिटिस खेलाडी ज्याक ड्रापरलाई सोझो सेटमा हराए । विश्व नम्बर तीन अल्काराजको सुरूवात राम्रो हुन सकेको थिएन । 

ड्रापरले पहिलो सेटमा चार दुई अंकको अग्रता लिएपनि चार पटकका ग्रान्डस्लाम विजेता अल्काराजले पुनरागमन गरे । उनले यो सेट ६-४ ले आफ्नो पक्षमा पारेका थिए । 

दोस्रो सेटमा ६-४ को जितका साथ अल्काराजले पहिलो पटक रोममा सेमीफाइनल यात्रा तय गरे । उनले ड्रापरलाई हराउन एक घन्टा ३८ मिनेट समय लगाएका थिए ।