
जुम्ला । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभरबाट राप्रपाले प्रत्यक्षतर्फ जुम्लामा मात्र एक सिट जित्यो ।
राप्रपाका उम्मेदवार ज्ञानबहादुर शाहीका लागि यो फगत जित मात्र थिएन, अहिलेसम्म सांसद नदोहोर्याएको जुम्लामा उहाँले कीर्तिमान नै रच्नुभयो । नेकपाका प्रभावशाली उम्मेदवार नरेश भण्डारीलाई ३ हजार १ सय ३१ मतान्तरले पराजित गर्नुभएका शाहीले १४ हजार ८ सय १६ मत प्राप्त गर्नुभयो ।
यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्रबहादुर शाहीले चुनाव मात्र जित्नुभएन, कहिल्यै आफ्नो प्रतिनिधि नदोहोर्याउने जुम्लाबाट लगातार दुईपटक निर्वाचित भएर कीर्तिमान नै बनाउनुभयो। २०४८ यताका हरेक निर्वाचनमा जुम्लाले नेतृत्व परिवर्तन गर्दै आएको थियो। तर, शाहीले सदनमा आफ्नो क्षेत्रको आवाज उठाउँदै सत्तापक्षलाई गर्ने प्रश्नलाई जुम्ली मतदाताले पुनः अनुमोदन गरिदिए।
तुलनात्मक रूपमा बलियो संगठन भएका तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना र सिंजा सभ्यताको विधेयकका पहलकर्ता नेकपाका उम्मेदवार नरेश भण्डारी र रवि-बालेनद्र क्रेजका कारण रास्वपा उम्मेदवार बिनिता कठायतबीच नै यसपालि प्रतिस्पर्धा हुने ठानिएको थियो । तर मतदाताले दल हेरेनन्, हेरे त केवल सदनसम्म आफ्नो आवाज पुर्याउने प्रतिनिधि । र, कमजोर सांगठनिक उपस्थितिकै बावजुद शाही निर्वाचित हुनुभयो ।
शाहीलाई जुम्लाले मन पराउनुको एउटा मुख्य कारण हो- स्याउको बजारीकरणमा उहाँले देखाएको अग्रसरता। दुई वर्षअघि बाढीपहिरोका कारण बाटैमा स्याउ कुहिने अवस्था आउँदा शाही आफैँ खटिएर स्याउलाई नष्ट हुनबाट जोगाउनुभएको थियो। विकासका ठूला वाचाभन्दा जुम्लीको जीविकोपार्जनमा सहयोग पुर्याउने यही कदमले शाहीलाई लोकप्रिय बनायो।
शाहीको पार्टीभित्रको उपस्थिति पनि जुम्लाका मतदाता रिझाउन निर्णायक रह्यो । शाही पहिलोपटक निर्वाचित भएलगत्तै राप्रपाका प्रवक्ता हुँदै सदनमा प्रमुख सचेतकसम्म बन्नुभयो । नेतृत्वमा शाहीको यही छलाङले जिल्लावासी प्रभावित भए ।
यता शाहीले जितपछि आफूलाई सम्पूर्ण जिल्लाबासीको साझा प्रतिनिधि भएको बताउनुभएको छ । सदनमा जिल्लाका समस्या र समृद्धिका मुद्दालाई अझ सशक्त ढंगले उठाउने प्रतिबद्धतासमेत उहाँको छ । शाहीको जितका लागि उहाँको बोल्ड’ व्यक्तित्वसँगै प्रतिस्पर्धी दलभित्रको आन्तरिक किचलो पनि सहायक बन्यो ।