सडक निर्माणकाे माग राखी राजविराजमा चक्काजाम, अस्तव्यस्त यातायात

वैशाख ३१, २०८२ |आरएन विश्वास
सडक निर्माणकाे माग राखी राजविराजमा चक्काजाम, अस्तव्यस्त यातायात

सप्तरी । सडक निर्माणकाे माग गर्दै स्थानीय युवाले आज सप्तरी सदरमुकाम राजविराजमा चक्काजाम गरेका छन् ।

कान्छाराम कन्स्ट्रक्सनले सडक निर्माणकाे ठेक्का लिएर पनि लामो समयदेखि अधुरै राख्दा दुर्घटनासहितका जाेखिम भइरहेकाे भन्दै स्थानीय युवाले चक्काजाम गरेका हुन् । 

ठेकेदार कम्पनीले स्थानीय जनआन्दोलन चाैकदेखि राम मन्दिरसम्मकाे करिब २ सय मिटर सडक अधुरै छाडेको छ । नगरकाे मुख्य सडक निर्माण पूरा गर्न सरकारकाे ध्यानाकर्षण गराउन चक्काजाम गर्नुपरेकाे स्थानीय आन्दोलनरत युवा खेलानन्द दास बताउनु हुन्छ ।

आज दिउँसोदेखि साँझसम्मै भएको चक्काजामका कारण मुख्य सडक अवरुद्घ हुँदा सर्वसाधारण तथा सवारीसाधन आउजाउ प्रभावित भयो । 

गृहमन्त्री रमेश लेखक साँझ राजविराज आउने कार्यक्रम रहेकाले स्थानीय सुरक्षाकर्मीले वैकल्पिक बाटाेबाट सवारीसाधनलाई गन्तव्यतर्फ पुर्‍याएका थिए ।

गृहमन्त्री लेखक राजविराजमा कांग्रेस सप्तरीका सभापति रामदेव साहकाे घरमा वैवाहिक कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।