२५६९औं बुद्ध जयन्ती, बुद्धको जन्म, सम्बोधि प्राप्ति र महापरिनिर्वाण एकै दिन परेकाले बैशाखे पूणिर्मा विशेष मानिन्छ । लुम्बिनीमा जन्मिनुभएका सिद्धार्थ गौतमले ज्ञान प्राप्त गरेपछि विश्वलाई बुद्धत्वको परिचय दिनुभयो । गौतम बुद्ध शान्ति र अहिंसाका मार्गदर्शक हुनुहुन्छ । बुद्धको उपदेश कुनै एक धर्म वा जातिको सीमामा छैन । सबै धर्म, समुदाय र विश्वले बुद्ध दर्शनलाई जीवन मार्ग मान्न थालेका छन् ।
वर्तमानमा विश्व अशान्त छ । युद्ध, द्वन्द्व र भौतिक प्रतिस्पर्धाले मानवीय मूल्यहरू ओझेलमा परेका छन् । यस्तोमा बुद्धको उपदेश झन जरुरी बनेको छ ।
कसैलाई नमार्नु, झूटो नबोल्नू, चोरी नगर्नू, सदाचारी बन्नू र मदिरा नपिउनू बुद्धका पञ्चशील उपदेश हुन् । बुद्धले सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वाणी, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् प्रयास, सम्यक् स्मृति र सम्यक् समाधि गरी अष्टाङ्गकि मार्गको ज्ञान बाँड्नुभएको थियो ।
यी शिक्षा आत्म शान्तिदेखि विश्व शान्तिसम्मको मार्ग हुन् । बुद्धले तृष्णा त्याग्न, लोभ मेट्न र करुणा फैलाउन सिकाउनुभयो । आजको अशान्त समाजमा यी कुरा अत्यन्तै उपयोगी छन् ।
बुद्धका शिक्षाबाट प्रभावित मानिसहरूको संख्या विश्वभर बढ्दो छ । विश्वभर करिब एक अर्ब बौद्ध धर्मावलम्बी छन् । तर, अरू धर्म मान्नेले पनि बुद्ध दर्शनलाई जीवनमा अपनाउन थालेका छन् ।
बौद्ध ग्रन्थमा भनिएको छ- जीवनमा एक पटक लुम्बिनी जानाले पाप मोक्ष हुन्छ, पूण्य प्राप्त हुन्छ । यही मान्यताले बौद्धर्मागीमा आस्था राख्ने हजारौं पर्यटक र साधक लुम्बिनी पुग्छन् । कोलाहल, तनाव र हिंसाबाट टाढा शान्ति खोज्न मानिस लुम्बिनी आइपुग्छन् ।
लुम्बिनी बुद्धको जन्मस्थल मात्र होइन, विश्वशान्तिको आधारबिन्दु हो । अब लुम्बिनी गुरु योजनालाई तीव्रता दिँदै अन्तर्राष्ट्रि यस्तरमा प्रवर्द्धन गर्नु अत्यावश्यक छ । ध्यान, योग र आध्यात्मिक पर्यटन मार्फत लुम्बिनीलाई शान्तिको विश्वव्यापी केन्द्र बनाउन सकिन्छ ।
बुद्ध जयन्ती केवल एक धार्मिक पर्व होइन, यो शान्ति, आत्मचिन्तन र मानवताको उत्सव हो ।