काठमाडौं । आईसीसी महिला टी-ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र हङकङबीचको खेल रद्द भएको छ ।
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी ग्राउन्ड बैंकक, थाइल्याण्डमा गएराति परेको पानीका कारण आउटफिल्ड भिजेकाले टस समेत हुन सकेन । खेल हुन नसकेपछि समूह सीमा दुवै टिमले १-१ अंक बाँडेका छन् ।
कुल ९ देश सहभागी छनोटमा हरेक समूहका टोलीले एकआपसमा दुई पटक खेल्नेछन् । त्यसपछि प्रत्येक समूहको शीर्ष टोलीले 'सुपर थ्री' चरणमा स्थान बनाउनेछ । सुपर थ्रीमा पुगेका तीन टोलीमध्ये शीर्ष दुई टोलीले महिला टी-२० विश्वकप २०२६ को ग्लोबल छनोटमा स्थान बनाउने छन् ।
ग्लोबल छनोटमा विश्वका विभिन्न क्षेत्रीय छनोट पार गरेका ८ टोलीसहित सन् २०२४ को प्रदर्शनका आधारमा सिधै छनोट भएका बंगलादेश र स्कटल्यान्ड गरी १० टोली रहनेछन् ।
हालसम्म अमेरिकाले ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको छ । ग्लोबल छनोटमा उत्कृष्ट चार टोलीले सन् २०२६ मा इंग्ल्यान्डमा हुने महिला टी-२० विश्वकप खेल्ने अवसर प्राप्त गर्नेछन् ।
अब नेपालले भोलि बहराइन र मंगलबार पुनः हङकङसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले जेठ १ गते बहराइनसँग खेल्नेछ । आजै सम्पन्न अर्को खेलमा घरेलु टोली थायल्याण्डले कुवेतलाई ८ विकेटले पराजित गरेको छ । कुवेतले दिएको ५९ रनको सामान्य लक्ष्य थाइल्याण्डले ९ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।