युएफा च्याम्पियन्स लिग : आज आर्सनल र पीएसजी आमनेसामने हुँदै

वैशाख १६, २०८२ |खेल ब्युरो
युएफा च्याम्पियन्स लिग : आज आर्सनल र पीएसजी आमनेसामने हुँदै

काठमाडौं । युएफा च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आज राति इंग्लिस टोली आर्सनलले पेरिस सेन्ट-जर्मेन पीएसजीलाई स्वागत गर्दै छ । एमिरेट्स स्टेडियममा खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरू हुनेछ ।

लिग चरणका दुई प्रतिद्वन्द्वीहरू फेरि आमनेसामने हुन लागेका हुन् । समूह चरणमा आर्सनलले पीएसजीलाई २-० ले पराजित गरेको थियो । दुवै टोलीले लामो समयको युरोपेली उपाधि पर्खाइ अन्त्य गर्ने सपना देखिरहेका छन् ।

मिकेल आर्टेटाको टोलीले क्वार्टरफाइनलमा रियाल मड्रिडलाई प्रभावशाली ढंगले हराउँदै सेमिफाइनलमा पिएसजीसँगको भेट पक्का गरेको थियो । पिएसजीले एस्टन भिल्लालाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

२००९ पछि पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको आर्टेटाको टोली च्याम्पियन्स लिगमा आठ खेल अपराजित रहँदै उत्कृष्ट लयमा छ । तर पछिल्लो प्रिमियर लिग खेलमा क्रिस्टल प्यालेससँग २-२ को बराबरीले टिमको कमजोरी फेरि उजागर भएको थियो ।

लुइस एनरिकेको पिएसजीले पनि लिभरपुल र एस्टन भिल्लालाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो । यद्यपि भिल्लासँग दोस्रो लेगमा ३-२ ले हार्दा पीएसजी अपराजित रहन सकेन । पीएसजीले घरेलु लिगको उपाधि पक्का गरिसकेको छ ।

तर, अक्टोबरमा एमिरेट्समा आर्सनलसँग २-० को हार उनीहरूका लागि चिन्ताको विषय हो । पीएसजीले हाल सम्म आर्सनलविरुद्ध जित निकाल्न सकेको छैन ।

आर्सनलका लागि टमस पार्टे निलम्बनका कारण पहिलो लेग गुमाउनेछन् भने जोर्जिन्हो, गेब्रियल, हृयाभट्र्ज, टकिहिरो टोमियासु र गेब्रियल जिसस पनि चोटका कारण टिम भन्दा बाहिर छन् । मिकेल मेरिनो र बेन हृवाइट भने फिट हुने अपेक्षा गरिएको छ । पिएसजी भने लगभग पूरै फिट टोली लिएर इंग्ल्यान्डको भ्रमण गर्दै छ ।