२८ दिनपछि चार भुटानी शरणार्थी थुनामुक्त

वैशाख १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
२८ दिनपछि चार भुटानी शरणार्थी थुनामुक्त

काठमाडौं । २८ दिनदेखि इलाका प्रहरी कार्यालय झापाको काँकरभिट्टामा थुनिएका चार जना भुटानी शरणार्थी हिजो साँझ थुनामुक्त भएका छन।

सर्वोच्च अदालतले बिहिबार ती शरणार्थीलाई थुनामुक्त गर्न आदेश दिएपछि थुनामुक्त गरी बेलडाँगी शिविर पठाइएको हो ।

अमेरिकाले भुटान डिपोर्ट गरेपनि भुटान सरकारले नेपालतिरै लखेट्दा १३ जना भुटानी शरणार्थी आश्रय खोज्दै भारतीय सीमासम्म आइपुगेका थिए । तीमध्ये चार जनालाई अध्यागमन विभागले २८ दिनदेखि प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो ।

प्रहरी नियन्त्रणमा रहेका चार जनामध्ये आशिष सुवेदी, सन्तोष दर्जी र अशोक गुरुङले दमकको बेलडाँगी शिविरमा बस्ने इच्छा गरेका छन् भने रोशन तामाङ मोरङको पथरी शनिश्चरे शिविरमा बस्ने भएका छन् ।

सर्वोच्चको आदेशअनुसार बेलडाँगीमा रहने तीन जनाले दमक नगरपालिकाभित्र मात्रै हिँड्डुल गर्न पाउनेछन् भने तामाङ पथरी शनिश्चरे नगरपालिकाभरि आवातजावत गर्न पाउनेछन् । सर्वोच्चले ‘स्थान हद’ तोक्न भने अनुसार यसो गरिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.