संघीय संसदको बजेट अधिवेशन सुरु

वैशाख १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
संघीय संसदको बजेट अधिवेशन सुरु

काठमाडौं । संघीय संसदको बजेट अधिवेशन सुरु भएको छ । संसद्का दुवै सदनको अधिवेशन आज दिउँसो १ बजेदेखि सुरु भएका हुन् । प्रतिनिधिसभा बैठकमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले सम्बोधन गरेका छन् ।

बैठक सुरु भएलगत्तै सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुभएको थियो । राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार र मन्त्रिपरिषद् गठन र कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरासमेत सभामुखले पढेर सुनाएपछि दलीय आधारमा सांसदहरुले बैठकलाई सम्बोधन गरिरहेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको थियो । तर प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अनुपस्थित हुने भएपछि प्रधानमन्त्री ओलीले सम्वोधन गर्ने कार्यतालिका रोकिएको एमालेका प्रमुख सचेतक महेश बर्तौताले बताउनुभयो ।

यो बजेट अधिवेशन भए पनि सरकारले विद्यालय शिक्षासम्बन्धी विधेयक पेस गर्ने प्रतिवद्धता जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.