काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल २०२५ को ४२औं खेलमा आज रोयल च्यालेन्जर्स बैंगलुरू र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
बैंगलुरूको एम. चिन्नास्वामी स्टेडियममा खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरू हुने छ । यस सिजन दुवै टोली दोस्रोपटक आमनेसामने हुन लागेका हुन् ।
घरेलु मैदानमा बैंगलुरूले यस सिजन हालसम्म ३ खेल खेलेकोमा सबै खेलमा हार व्यहोरेको छ । ८ मध्ये ५ खेल जित्दै १० अंक बनाएको बैंगलुरू लिगको चौंथो स्थानमा छ ।
राजस्थानले ८ खेलमा केवल २ जितसहित ४ अंक मात्र जोडेको छ । उ लिगको आठौं स्थानमा छ । यस सिजिनको अघिल्लो भेटमा बैंगलुरूले राजस्थानलाई उसको घरेलु मैदानमा ९ विकेटले हराएको थियो ।
आईपीएल इतिहासमा यी दुई टोलीबीच ३२ खेल भएका छन । जसमा बैंगलुरूले १६ र राजस्थानले १४ खेल जितेको छ । २ खेल बिना नतिजा रद्द भएका छन् । चिन्नास्वामीमा भएका ९ भिडन्तमध्ये बैंगलुरूले ३ र राजस्थानले ४ खेल जितेको छ । यस मैदानमा भएका २ खेलमा नतिजा आएको थिएन ।
बैंगलुरूका लागी विराट कोहलीले ८ खेलमा ४ अर्धशतकसहित ३ सय २२ रन बनाएका छन् । कप्तान रजत पाटीदारले २ सय २१ रन र फिल सल्टले २ सय १३ रन बनाएका छन् । बलिङतर्फ जोश हेजलवुड १२ विकेटसहित अग्रस्थानमा छन् भने क्रुणाल पाण्ड्याले १० विकेट लिएका छन् ।
यस सिजन राजस्थान खराब लयमा छ । यशस्वी जायसवालले ८ खेलमा ३ सय ७ रन बनाएपनि अन्य ब्याटर चल्न सकेका छैनन् । बलिङमा वनिन्दु हसरंगाले ६ खेलमा ९ विकेट लिएका छन् । कप्तान सञ्जू स्यामसनले पेटको चोटका कारण आजको खेल गुमाउने पक्का भएको छ । उनको स्थानमा रियान पराग राजस्थानको कप्तानी गर्ने छन् ।
बैंगलुरूमा आज वर्षाको सम्भावना छैन । मौसम सफा र गर्मी हुनेछ । तापक्रम २२ देखि ३६ डिग्री सेल्सियसबीच रहने अनुमान गरिएको छ ।