काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्च अदालतले ‘डिल’ गरिरहेको आरोप लगाउनुभएको छ । लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्र : अवसर र चुनौती’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले संवैधानिक आयोगका पदाधिकारीहरूलाई अदालतले ‘तँलाई हान्दिऊँ’ भन्दै झुलाइरहेको आरोप लगाउनु भयो ।
आयोगका पदाधिकारीहरूको कार्यकाल सकिने समय भइसक्दा समेत नियुक्तिको परीक्षण नभएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “अहिले सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतको विषयहरूलाई दुई/तीन वर्षदेखि तँलाई हान्दिऊँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याई नभ्याई भन्छ । कहिले भोलि हेर्ने भन्छ । त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न गराउँछ । एउटा संवैधानिक नियुक्ति भएको विषयमा आयोगका पदाधिकारीले गरेको काम र उनीहरूको कार्यावधि सकिन लागिसक्यो । अब त्यो ठीक थियो कि थिएन भन्ने कुरा नेपालको अदालतको लागि चाहिँ चार वर्ष समय लाग्छ ? त्यो पनि आइतबार हेरुम, पख्लास् शुक्रबारसम्म भनेर अल्झाइरहेको छ । अदालतले डिल गर्यो अब त्यसको विश्वसनीयता के रहन्छ ?”
उहाँले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत दोषीलाई कारबाही गर्ने कुरामा राजनीतिक डिल गर्ने गरेको टिप्पणी गर्नुभयो । “अनि अख्तियारले यी विषयमा मैले अनुसन्धान गरे भन्छ । अहनुसन्धान गरिसकेपछि मैले फलानो फलानो व्यक्तिलाई दोषि पाएको छु । उ आफैंले समाचार दिन्छ । अनि आफैं कारबाही गरुँ कि नगरुँ भनेर राजनीतिक डिल गर्न थाल्छ”, उहाँले भन्नुभयो ।
उहाँले लोकतन्त्रको कडीका रूपमा रहेका संस्था अदालत, अख्तियार र संसद्को प्रभावकारितामाथि निराशा पैदा भइरहेको बताउनु भयो । अख्तियार, अदालत, संसद् र पार्टीमाथि जनतामा संशय पैदा हुनु नै लोकतन्त्रको मुख्य चुनौती रहेको महामन्त्री थापाको भनाइ छ ।