काठमाडौं । लुका योभिचले दुई गोल गरेपछि एसी मिलानले चिरप्रतिद्वन्द्वी इन्टर मिलानलाई पराजित गर्दै कोपा इटालियाको फाइनलमा स्थान बनाएको छ ।
सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानले इन्टरलाई ३-० ले पराजित गरेको हो । एसी मिलानले समगमा ४-१ को नतिजासहित फाइनलमा स्थान सुरक्षित गर्यो । पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो ।
पहिलो हाफ सकिन नौं मिनेट बाँकी हुँदा रियाल मडि्रडका पूर्व स्ट्राइकर योभिचले हेड गर्दै मिलानलाई अग्रता दिलाए । दोस्रो हाफ सुरू भएको चार मिनेटमै उनले कार्नरबाट आएको बललाई नियर पोस्टबाट फिनिस गर्दै दोस्रो गोल थपे । मार्चसम्म गोलरहित रहेका योभिचले पछिल्ला पाँच खेलमा चार गोल गरेका छन् ।
इन्टरका स्टेफान डि भ्राइको प्रयासलाई गोलकिपर माइक म्यान्यानले बचाए । ८५औं मिनेटमा तिज्जानी रेजेन्डर्सले तेस्रो गोल गर्दै मिलानको जित सुनिश्चित गरे ।
यो जितले निराशाजनक सिजन बिताइरहेको मिलानलाई एउटा उपाधिको आशा दिलाएको छ । हाल मिलान सेरी ए तालिकाको नवौँ स्थानमा छ र च्याम्पियन्स लिगबाट बाहिरिसकेको छ ।
हारसागै इन्टरको ट्रेबल जित्ने सपना पनि टुटेको छ । इन्टर सेरी एको शीर्ष स्थानमा छ र च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।