काठमाडौं । ब्राजिलका लेजेन्डरी फुटबलर रोबर्टो कार्लोस नेपाल आएका छन् । उनी आज बिहान नेपाल अवतरण गरेका हुन् । कार्लोस नेपाल सुपर लिग एनएसएल हेर्न नेपाल आएका हुन् ।
एनएसएल आयोजकले कार्लोसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो । विश्व खेलकुदका ठूला नाममध्ये उनी नेपाल आउनेमा एकमा पर्नेछन्। ५२ वर्षीय कार्लोसले नेपाल आउँदा खुशी लागेको बताए ।
काठमाडौं बसाइका क्रममा कार्लोसले दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो क्वालिफायर पनि हेर्नेछन्। सन् २०१६ मा उनले व्यावसायिक फुटबल खेल्न छाडेका थिए। उनी विश्व फुटबल इतिहासकै सर्वकालीन महान खेलाडीमध्ये एक हुन् ।
डिफेन्डर कार्लोस फुलब्याक पोजिसनबाट खेल्ने भएपनि उनी आफ्नो अत्यधिक आक्रामक फुटबलका लागि परिचित छन् । उनी शक्तिशाली प्रहारका लागि माहिर छन्। फ्रिकिकमा अचुक निसाना लगाउनु उनको विशेषता थियो।
उनले तीन विश्वकप खेलेका छन् । कार्लोस सम्मिलित ब्राजिलको टोली सन् १९९८ विश्वकप फुटबलको फाइनलमा प्रवेश गर्दै उपविजेता बनेको थियो । सन् २००२ मा एसियामा भएको पहिलो विश्वकपमा भने उनी सम्मिलित ब्राजिल च्याम्पियन भएको थियो।
कार्लोसले १२ बर्ष व्यावसायीक खेलाडीको रूपमा स्पेनिस जायन्ट रियाल मड्रिडमा बिताएका थिए । उनले अर्को युरोपेली क्लब इन्टर मिलानबाट पनि खेले। उनले ब्राजिलको राष्ट्रिय टोलीका लागि १ सय २५ खेल १० गोल गरेका छन्।
१९९७ मा फ्रान्सविरुद्धको १-१ गोलको बराबरीमा सकिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका दैरान उनले ३० यार्ड जतिको दूरीबाट प्रहार गरेको फ्रिकिक विश्व फुटबलको हाल सम्मकै उत्कृष्ट मध्ये एक हो । २१ मिनेटमा उनले प्रहार गरेको फ्रिकिक फ्रेन्च गोलरक्षक फाबियन बार्थेजले गोलमा परिणत भएको चालै पाएनन् ।
क्लब स्तरमा कार्लोस १९९६ मा इन्टर मिलानबाट रियाल मड्रिडमा सामेल भएका थिए । रियालबाट सबै प्रतियोगिताहरूमा ५ सय ८४ खेल खेल्दै ७१ गोल गरेका थिए । उनले रियालबाट चार पटक ला लिगा उपाधि र तीन पटक युईएफए च्याम्पियन्स लिग जितेका छन् ।