खेलकुदका लागि व्यस्त वर्ष बन्नेछ २०८२

वैशाख १, २०८२ |विनयज्योति सापकोटा
खेलकुदका लागि व्यस्त वर्ष बन्नेछ २०८२

काठमाडौं । नयाँ वर्ष २०८२ नेपाली खेलकुदका लागि उत्साहको वर्ष हुने अपेक्षा गरिएको छ । नेपालले विश्वकप क्रिकेटमा छनोट खेल्ने तालिका छ भने कबड्डीको महिला र पुरुष टोलीले नै विश्वकप खेल्नेछन्। अन्डर नाइइन्टिन विश्वकप छनोट त नेपालमै आयोजना भइरहेको छ। यससँगै फुटबल समर्थकले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल हेर्न चाहेका छन् ।

वर्ष २०८२ सुरु हुँदा नेपालमा नेपाल सुपर लिग, रग्बी च्याम्पियनसिप, आईसीसी अन्डर नाइन्टिन मेन्स वल्र्डकप क्वालिफायर आयोजना भइरहेका छन् । तर, यो वर्ष सबैको ध्यान १४औं दक्षिण एसियाली खेलकुद र १०औं राष्ट्रिय खेलकुदमा हुनेछ । पाकिस्तानले आगामी माघमा साग खेलकुद आयोजना गर्ने बताएको छ । तर, नेपाल कुन-कुन खेलमा सहभागी हुन्छ, अहिलेसम्म टुंगो लागेको छैन । ओलम्पिक कमिटी र सरकारबीचको विवादले नेपाली खेलकुद अहिले विभाजित छ।

त्यसैगरी, तयारीको कारण देखाउँदै सरकारले १०औं राष्ट्रिय खेलकुदको मिति तीन पटक सारिसकेको छ । खेलाडी, खेल पदाधिकारी र खेलस्थल तयार छन् । त्यसैले २०८२ मा राष्ट्रिय खेलकुद आयोजना होस् भन्ने सबैको चाहना छ । यसबाहेक अन्य खेल गतिविधि हेर्ने हो भने उत्साहपूर्ण देखिन्छ । गत वर्षको जस्तै यो वर्ष पनि नेपाली खेलकुदमा नयाँ प्रतियोगिता र क्रिकेटको व्यस्त खेल तालिका छ ।

पहिले क्रिकेटकै कुरा गरौं । नेपाली क्रिकेट टिमले २०८२ को असारमा नेपालमै स्कटल्यान्ड र नेदरल्यान्ड्सँग लिग टुको सिरिज खेल्ने तालिका छ । त्यसपछि स्कटल्यान्डसँग सिरिज खेलेर नेपाली टिम विश्वकप छनोटको तयारीका लागि श्रीलंका, भारत र अस्ट्रेलिया जानेछ । 

त्यतिमात्रै होइन, नेपालले यूएईमा टेस्ट राष्ट्रसँग सिरिज खेल्ने लक्ष्य राखेको छ । त्यसपछि ओमानमा विश्वकप छनोट र यूएईमा लिग टुकै अर्को सिरिज खेल्नेछ । क्यानले आगामी मंसिरमा प्रिमियर लिग गर्ने क्यालेन्डर सार्वजनिक गरेको छ भने पुसमा महानगर कप आयोजना गर्ने क्यानको तयारी छ । महिला क्रिकेट टिमका तीन घरेलु प्रतियोगिता आयोजना हुँदा चार अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने क्यानले जानकारी दिएको छ ।

२०८२ मा नेपाली फुटबल टिमले पाँच अन्तर्राष्ट्रिय खेल खेल्ने तय छ । यी सबै खेल एसियन कप छनोटका हुन् । त्यसमा तीन खेल नेपालको दशरथ रंगशालामा आयोजना हुनुपर्नेछ । तर, रंगशाला आगामी वर्ष पनि पुनःनिर्माण हुन्छ कि हुँदैन भन्नेमा आशंका छ । नेपाली टिमको मैत्रीपूर्ण खेल सार्वजनिक नभएको कारण, यस्ता खेल थपिन सक्नेछन् । महिलाको भने अन्तर्राष्ट्रिय खेल तय भइसकेका छैनन् भने महिला लिगको पनि तालिका आइसकेको छैन ।

२०८२ मा भलिबलको काभा महिला भलिबल नेसन्स लिग नेपालमा नै आयोजना हुनेछ । यो प्रतियोगिता लगातार नेपालमा नै आयोजना भइरहेको छ । यो वर्ष भने टुँडीखेलमा १० हजार क्षमताको अस्थायी प्याराफिट बनाएर खेल आयोजना हुनेछ । यसो भयो भने भलिबलका धेरै दर्शकले खेल हेर्न पाउने अपेक्षा गर्न सकिन्छ । 

त्यसैगरी, लिगको तयारीका लागि महिला भलिबल टिम रसिया भ्रमणमा जानेछ । यता, एनभीए क्लब च्याम्पियनसिप र लिग लगातार रुपमा हुने भलिबल संघले जानकारी दिएको छ । पुरुषको अन्तर्राष्ट्रिय प्रतियोगिता भने नेपालमा आयोजना हुने छैन ।

महिला कबड्डी टिमले यही वैसाखमा बंगलादेशसँग ६ दिवसीय सिरिज खेल्नेछ । त्यसपछि आउँदो जेठमा विश्वकप खेल्न टिम भारत जानेछ । नेपाली टिम विश्वकपमा पदकको दावेदार टोलीसमेत हो । सिनियर कबड्डी विश्वकप पनि यही वर्ष हुनेछ । तर, देश र मिति सार्वजनिक हुन बाँकी छ । नेपाल महिलातर्फ तेस्रो र पुरुषतर्फ छैटौं स्थानमा भएका कारण वरीयताका आधारका विश्वकप सहभागीता निश्चित भइसकेको छ । नेपालले इरानमा हुने अन्डर नाइन्टिन कबड्डी विश्वकप खेल्ने तालिका छ ।

पाँचौं राष्ट्रिय रग्बी च्याम्पियनसिपबाट वर्षको सुरुआत गरेको रग्बी खेलले यो वर्ष बंगलादेशसँग सिरिज खेल्नेछ । यो सिरिज घरेलु मैदानमा नै आयोजना हुनेछ । त्यसैगरी, एसिया रग्बी सेभेन्स असोजमा आयोजना हुँदा नेपालले पनि सहभागिता जनाउने तय छ ।

खेलकुदले देशलाई एक बनाउँछ । क्रिकेट, फुटबल, भलिबल जस्ता मास गेम्सले राष्ट्रियताको भावनालाई बलियो बनाउँछ । यसैकारण खेलकुदले ठूलो सफलता हात पार्यो भने हाम्रा नेताहरु त्यसको जस लिन अघि त सर्छन् तर पूर्वाधारमा लगानी गर्न कन्जुस्याईं पनि गर्छन् । तर, सरकारले पूर्वाधार र प्रतियोगितालाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय खेल आयोजना गर्न सहयोग गर्नु आवश्यक हुन्छ ।


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।