एनएसएल : झापालाई हराउँदै धनगढी प्लेअफमा

वैशाख १, २०८२ |खेल ब्युरो
एनएसएल : झापालाई हराउँदै धनगढी प्लेअफमा

काठमाडौं । धनगढी, नेपाल सुपर लिगको तेस्रो संस्करणको प्ले अफमा पुग्ने दोस्रो टोली बनेको छ । आज भएको खेलमा झापा एफसीलाई १-० ले हराउँदै धनगढीले शीर्ष चारमा स्थान पक्का गरेको हो । एक खेल बाँकी रहँदै ललितपुर एफसीले प्ले अफमा स्थान बनाएको छ । आजको हारसँगै प्ले अफमा पुग्ने झापाको गणितीय सम्भावना मात्रै बाँकी छ ।

खेलको पहिलो आधा घण्टा सुस्त बनेपछि दुवै टिमले एक-एक अवसर मात्रै निकाल्न सके । खेलको आठौं मिनेटमा धनगढीले पहिलो पोस्ट अटेम्प्ट गर्यो । अहमद हिजाजीको पासमा कृतिश रत्न छुन्जुले बक्सभित्रबाट गरेको प्रहार पोस्टबाहिर गएको थियो । 

त्यसैगरी, खेलको ३०औं मिनेटमा झापा गोलको नजिकै पुगेर पनि असफल भयो । आर्सिक लाजारको प्रहार धनगढीका गोलकिपर वालिदले बचाएका थिए । पहिलो हाफको इन्जुरी समयमा झापाका अभिनाश स्याङ्तानको क्रसमा अल्हाजी गेरोको हेडर क्ररबारको केही माथिबाट बाहिरिएको थियो । यससँगै पहिलो हाफ गोलरहित बनेको थियो ।

दोस्रो हाफमा पनि खेल खास रोमाञ्चक देखिएन् । दुवै टिमले बिरलै मात्र अवसर निकालेका थिए । ४८औं मिनेटमा अल्हाजीको लामो प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो ।

खेलको ६०औं मिनेटमा धनगढी डेडलक तोड्न सफल भयो । धनगढीका ब्राजिली खेलाडी सर्जियो बारबोजारको क्रसमा हिजाजीले गोल गरे । ६ यार्ड बक्सभित्र रहेका उनले गोलकिपर र डिफेन्डर दिपेश धिमाललाई छक्काएर गोल गरेका हुन् । 

यससँगै झापा एक गोलले पछि पर्यो । झापाका लाकेन लिम्बुले ६८औं मिनेटमा बायाँतर्फबाट हानेको फ्रि-किक दिपेश धिमालले पोस्टअघि ट्याप इन गरे पनि बल पोस्टको दिशामा रहन सकेन । 

खेलको अन्तिम समयमा झापाको दुई सानदार प्रहार गोलमा परिणत हुन सकेन । ८८औं मिनेटमा प्रविन बस्नेतले बक्सभित्रबाट गरेको प्रहार क्रसबारमा लागेर फर्कियो । यतिबेला गोलकिपर अघि बढिसकेका थिए । रिबाउन्डमा आरोनको प्रहार धनगढीका पासाङ लामाले बचाएका थिए । 

स्टपेज समयमा झापाका अल्हाजीको निकै शक्तिशाली प्रहार गोलकिपर वादिल विरोउले मुश्किलले बचाएका थिए । रिबाउन्डमा प्रविनको प्रहार पनि गोलकिपरले रोकेका थिए । यसअघिका दुई खेल बराबरी खेलेको झापाले लिगमा पहिलो हारको सामना गरेको छ ।