आईसीसी पुरुष यू-१९ विश्वकप एसिया छनोटमा नेपाललाई लगातार दोस्रो जित

वैशाख १, २०८२ |खेल ब्युरो
आईसीसी पुरुष यू-१९ विश्वकप एसिया छनोटमा नेपाललाई लगातार दोस्रो जित

काठमाडौं । आईसीसी पुरुष यू-१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । आज सम्पन्न खेलमा घरेलु टोली नेपालले ओमानविरुद्ध ८ विकेटको सहज जित हात पारेको हो ।

माथिल्लो मूलपानी मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको ओमानले ३८ ओभरमा अल आउट हुँदै १ सय १७ रन बनाएको थियो । ओमानका लागि सद्धार्थ सौम्य शंकरले १६ र प्रथिस हेमा रमेशले १० रन बनाए । ब्रजेश शाहले ७८ बल खेल्दै ६ चौकाको मद्दतमा ५२ रन जोडे । ओमानका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि युवराज खत्रीले शानदार बलिङ गरे । उनले ७ ओभर बलिङ गर्दै २ मेडनसहित १५ रन खर्चेर ५ विकेट लिए । सन्तोष यादवको नाममा २ विकेट रह्यो । दयानन्द मण्डल, अपराजित पौडेल र अशोक धामीले १-१ विकेट बाँडे ।

जवाफमा नेपालले १ सय १८ रनको लक्ष्य १४ ओभर ३ बलमा केवल २ विकेट गुमाएर पुरा गर्‍यो । पहिलो विकेटका लागि निरज यादव र सहिल पटेलले १० ओभरमा ८५ रनको आक्रामक साझेदारी गरे । सहिल ४४ रन बनाएर बाहिरिए । निरजले सर्वाधिक ४६ रनको योगदान दिए । 

कप्तान नरेन भट्ट १२ र सन्तोष यादव १० रनमा नटआउट रहे । ओमानका लागि सौम्या भाविन सम्पतले २ विकेट हात पारे । नेपालले २ खेलमा २ जितसहित ४ अंक जोडेको छ । नेपालले हिजो भएको खेलमा यूएईलाई डीएलएस पद्दतीका आधारमा ५ रनले हराएको थियो । ओमान भने अफगानिस्तानसँग ८ विकेटले पराजित भएको थियो ।