काठमाडौं । लिभरपुल प्रिमियर लिगको उपाधि नजिक पुगेको छ । गए राति सम्पन्न खेलमा भर्जिल भान डाइकले ९० औं मिनेटमा हेडर मार्फत गोल गरेपछि लिभरपुलले वेस्ट हम विरुद्ध २-१ गोल अन्तरको जित हात पारेको हो ।
यस जितसँगै अर्को साता आर्सनल इप्सविचसँग पराजित भए तथा लिभरपुलले लेस्टर सिटीलाई हराए उपाधि पक्का हुनेछ ।
खेलको १८ औं मिनेटमा मोहम्मद सलाहको उत्कृष्ट पासमा लुइस डियाजले गोल गरेपछि लिभरपुलले सुरुआती अग्रता बनाएको थियो । यो डियाजका जारी लिगमा ११औं गोल हो । कन्कसनका कारण फुलहम विरुद्धको खेल गुमाएका वेस्ट हमका गोलरक्षक एलिसनले पहिलो हाफमा मोहम्मद कुडुसको प्रहार रोकेका थिए भने दोस्रो हाफमा बोवेन र कुडुसको प्रहार पनि रोकेका थिए ।
लुकास पाक्वेटाले मिडफिल्डमा उत्कृष्ट नियन्त्रण गर्दै वेस्ट हमका लागि थुप्रै अवसर सिर्जना गरेका थिए । ८६ औं मिनेटमा लिभरपुलका एन्डी रोबर्टसनको आत्मघाती गोल मार्फत खेल बराबरी गर्यो । तर अन्तिम मिनेटमा भान डाइकले कर्नरनबाट आएको बलमा हेड गर्दै लिभरपुललाई उपाधि नजिक पुर्याए ।
यो सालाहले दुई वर्षे नयाँ सम्झौतामा हस्ताक्षर गरेपछि पहिलो खेल थियो । एनफिल्डमा समर्थकहरूले 'इजिप्सियन किंग' सालाहलाई विशेष सम्मान दिएका थिए । जितसँगै लिभरपुलले शीर्ष स्थानमा १३ अंकको अग्रता लिएको छ । लिभरपुलका लागी लिगमा अब मात्र ६ खेल बाँकी रहँदा ३२ खेलमा ७६ अंक जोडेको छ । वेस्ट हम ३२ खेलमा ३५ अंक सहित १७औं स्थानमा झरेको छ तर ऊ रेलिगेसन क्षेत्रभन्दा अझै १४ अंकले अगाडि छ ।