काठमाडौं । यो वर्ष नेपाली खेलकुद क्षेत्र परिणामका हिसावले मिश्रित बन्यो । केही सुखद् कुरा भए भने केही दुःखद् ।
तर वर्षभरि नै निरन्तर प्रतियोगिता आयोजना भए र अन्तर्राष्ट्रिय सहभागिता पनि निरन्तर भइरह्यो । यो वर्ष हुने भनिएको राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तीन पटक सर्यो । तर सञ्चालन हुने अझैसम्म छनक छैन । बाँकी प्रतियोगिता भने वर्षैभरि सञ्चालन भए ।
भलिबल, खोखो, सेपाकताक्रो, कबड्डी र तेक्वान्दोका लागि यो वर्ष सम्झनलायक मात्रै होइन ऐतिहासिक रह्यो । यी खेलले देशलाई गौरव गर्न लायक नतिजा हात पारे । पेरिस ओलम्पिक यसै वर्ष सम्पन्न भयो । ओलम्पिकमा नेपालले खास प्रदर्शन गर्न नसके पनि पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले पारालिम्पिक्समा काँस्य पदक जितिन् । गत भदौमा भएको पारालिम्पिक्समा पलेशाले नेपाली खेलकुदमा अहिलेसम्मकै सबैभन्दा ठूलो पदक जितेकी हुन् ।
काभा महिला भलिबल नेसन्स लिग गत साउनमा नेपालमै भएको थियो । सेन्ट्रल एसियाको महत्त्वपूर्ण प्रतियोगितामा नेपाल फाइनल पुगेको थियो । यसअघिका दुई प्रतियोगिताको उपाधि जितेको भए पनि नेपाल यो वर्ष भने फाइनलमा पराजित भयो । राम्रो प्रदर्शनका गरेको नेपाली टिमले रजत पदक सुरक्षित गर्यो ।
पुरुष भलिबल कमजोर भए पनि महिला भलिबलमा यो वर्ष नेपालले दुई उपाधि जित्यो । पहिलो पटक भएको काभा महिला क्लब भलिबल नेपाल पुलिस क्लबले जित्यो । यो नेपाली भलिबलमा ऐतिहासिक उपलब्धि हो । यति मात्रै होइन नेपालले महिला काभा बीच भलिबलमा पनि स्वर्ण जित्यो । यो स्वर्ण कमला पुन र मनीषा चौधरीको जोडीले जितेको हो । पुरुषतर्फ भने नेपाल उपविजेता बन्यो ।
थाइल्यान्डमा भदौ १६ देखि २३ गतेसम्म भएको सेपाकताक्रो विश्वकपमा नेपालले एक स्वर्ण र तीन काँस्य जित्यो । नेपाली टोलीले मिक्स इभेन्टमा स्वर्ण पदक जितेको यो नै पहिलो पटक थियो । यससँगै नेपालले सेपाकताक्रोमा कीर्तिमानी प्रदर्शन गरेको हो । नेपालले होप, मेन्स क्विड र मिक्स क्विड इभेन्टमा काँस्य पदक जितेको थियो ।
गत माघ पहिलो साता भारतको नयाँ दिल्लीमा भएको खोखो विश्वकपमा नेपाल पुरुष र महिलातर्फ उपविजेता बन्यो । यो नेपालका लागि ठूलो उपलब्धि थियो । नेपालले फाइनलमा भारत र पाकिस्तानसँग हार बेहोरेको थियो । विश्वकपको पदकले नेपालमा खोखो खेलको सम्भावना बढाएको देखाएको छ । तर अहिलेसम्म पनि सरकारले विश्वकपमा पदक विजेता खेलाडीलाई पुरस्कृत गर्न कन्जुस्याइँ गरिरहेको छ । वर्षको अन्तिममा नेपालमा खोखो खेलको फ्रेन्चाइज लिग समेत भयो । तर त्यसले भने खासै चर्चा पाएन ।
कबड्डीमा यो वर्ष दुई महत्त्वपूर्ण कुरा भए । नेपालले महिला एसियाली कबड्डी च्याम्यिनसिपमा काँस्य जित्यो । फागुनमा इरानमा भएको च्याम्पियनसिपको सेमिफाइनलमा भारतसाग ५६-१८ ले पराजित भएर काँस्य जितेको हो । यता यो वर्ष नै पहिलो पटक पुरुषको फ्रेन्चाइज कबड्डी लिग भयो । जनकपुर नाइट्सले उपाधि जित्यो । उल्लेख्य मात्रामा विदेशी खेलाडी उपस्थित भएको लिगमा नेपाली खेलाडीले पनि राम्रो पारिश्रमिक पाएका थिए ।
वर्षको अन्तिमतिर सरकार र नेपाल ओलम्पिक कमिटीबीचको विवादले खेलकुद प्रशासन अस्तव्यस्त रह्यो । चार खेल संघलाई सदस्यता नदिई नेपाल ओलम्पिक कमिटीले अवैध निर्वाचन गरेको सरकारको आरोप छ । उसले अदालतको आदेश अवज्ञा गरेर पहिलो विशेष साधारण सभा गर्यो । त्यसपछि जीवनराम श्रेष्ठ तेस्रो कार्यकालका लागि निर्वाचित हुनकै लागि अनलाइनमा निर्वाचन गराएको सरोकारवालाको आरोप अझैसम्म कायम छ । यो निर्वाचन पनि नगराउन अदालतको आदेश थियो, जुन अवज्ञा भयो। तर अहिले ओलम्पिक काउन्सिल अफ एसियाले यो विवाद मिलाउने जिम्मेवारी पाएको छ । यही विवादका कारण अहिलेसम्म १४ औं दक्षिण एसियाली खेलकुदमा सहभागिताबारे नेपालले निर्णय गर्न सकेको छैन ।
यही चैतमा भारतमा भएको साबा बास्केटबल प्रतियोगितामा नेपालको टाइम्स क्लब तेस्रो हुन सफल भयो । वर्षको अन्तिममा बास्केटबलले दिलाएको यो खुशीले नयाँ वर्षको शुभकामना समेत दिन्छ । वर्षको अन्तिम अन्तर्राष्ट्रिय सहभागितामा नेपाली कराते टोलीकी एरिका गुरुङले अस्ट्रेलियन ओपनमा स्वर्ण जितिन् । नेपालबाट सहभागी पाँच जना खेलाडीले नै पदक जिते । एरिकाले यसै वर्ष २० औं एसियन कराते च्याम्पियनसिपमा पनि रजत पदक जितिन्। उनले यो वर्ष खेलेका सबै प्रतियोगितामा पदक जितेकी छन् ।
यसै वर्षको गत कात्तिकमा बहराइनको मानामास्थित अल अहली क्लबमा जुनियर समर गेम्स आयोजना भएको थियो । नेपाली बक्सिङ खेलाडी स्वस्तिका तिरुवा र नुर्बु शेर्पाले नेपाललाई स्वर्ण जिताए । स्वस्तिकाले ५४ केजीमुनिको फाइनलमा ब्राजिलकी ओलिभिएरालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । नुर्बुले पनि फाइनल खेलमा ब्राजिली खेलाडीलाई हराएका थिए ।
यसबाहेक सबैजसो मार्सल आट्सका घरेलु प्रतियोगिता निर्धारित समयमै आयोजना भएका छन् । एथ्लेटिक्सका पोखरा म्याराथन, नेपालगञ्ज म्याराथन, काठमाडौं म्याराथन, प्रोटिन रन, लुम्बिनी पिस म्याराथन जस्ता चर्चित प्रतियोगिता यो वर्ष पनि भएका थिए ।
तर दुःखको कुरा चाहिँ संघीय सरकार र कर्णाली प्रदेश सरकारले निर्धारित समयमा राष्ट्रिय खेलकुद आयोजना गर्न नसक्दा खेलाडीमा अन्योल छ । राष्ट्रिय खेलुकदको सचिवालय स्थापना भइसकेको भए पनि अहिलेसम्म प्रतियोगिताको तयारी कमजोर छ । यसैले यो वर्ष राष्ट्रिय खेलकुद आयोजनाको लागि असफल वर्ष हो । सायद आउँदो वर्ष यस्तो कमजोरी सुधार हुनेछ ।