इङलिस प्रिमियर लिग: लेस्टर सिटीमाथि न्युक्यासल सहज जित

चैत्र २६, २०८१ |खेल ब्युरो
इङलिस प्रिमियर लिग: लेस्टर सिटीमाथि न्युक्यासल सहज जित

काठमाडौं । इङलिस प्रिमियर लिगमा न्युक्यासलले रेलिगेसनको खतरामा रहेको लेस्टर सिटी माथि ३-० गोलको सहज जित हात पारेको छ । तीन अंक हात पारेसँगै न्युक्यासलको च्याम्पियन्स लिगमा छनौट हुने आशा पनि कायमै रह्यो ।

लेस्टरको मैदान किङ पावरमा गएराती भएको खेलमा न्युक्यासलका जेकोब मेर्फीले सुरूवाती एघार मिनेट भित्रनै दुई गोल गरे । दोस्रो मिनेटमै मेर्फीले टिनो लिभ्रामेन्तोको क्रसमा गोल गर्दै न्युक्यासललाई अग्रता दिलाएका थिए । 

एघारौँ मिनेटमा उनैले गोल गरेपछि लेस्टर २-०ले पछि परेको थियो । गत डिसेम्बरमा पनि मेर्फीले लेस्टर विरुद्धको खेलमा दुई गोल गरेका थिए । ३४औं मिनेटमा लेस्टरका पुर्व खेलाडी हार्भी बन्र्सले टिमका लागी तेस्रो गोल थपे । 

उनले गोलको खुशी भने मनाएनन् । दोस्रो हाफमा लेस्टरले गोलका केही मौका पाएपनि सदुपयोग गर्न सकेन् । लेस्टर, इङलिस फुटबल लिगको इतिहासमा घरेलु मैदानमा विना गोल गर्दै लगातार आठ खेलमा हार बेहोर्ने पहिलो टिम बनेको छ । 

१९औं स्थानमा रहेको लेस्टरको ३१ खेलबाट १७ अंक छ । न्युक्यासल भने म्यानचेस्टर सिटीलाई उछिन्दै तालिकाको पाँचौ स्थानमा छ । उसको ३० खेलबाट ५३ अंक छ । छैटौ स्थानको सिटीको ५२ अंक छ । 

यो खेलमा लेस्टर सिटीका प्रशिक्षक रूड भान निस्टलरोयले १५ वषिर्य जेरेमी मोङलाई सब्सिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गराएका थिए उनी प्रिमियर लिग खेल्ने दोस्रो कम उमेरका खेलाडी हुन् ।