नुवाकोटमा आयाेजना गरिएकाे द त्रिशुली अल्ट्रा रेस सम्पन्न

खेलाडीलाई मात्र नभइ पर्यटकीय स्थललाई विश्वमा परिचित बनाउन मद्दत पुग्ने
चैत्र २६, २०८१ |खेल ब्युरो
नुवाकोटमा आयाेजना गरिएकाे द त्रिशुली अल्ट्रा रेस सम्पन्न

काठमाडौं । उकालो ओरालोमा हुने अल्ट्रा दौडका लागि नेपालको पहाडि र हिमाली क्षेत्रलाई उत्कृष्ट मानिन्छ । नेपाल एड्भेन्चर रनिङ् महासंघले शनिबार नुवाकोटमा द त्रिशुली अल्ट्रा रेसको आयोजना गर्‍यो । नुवाकोटको बेल्कोट गढीबाट सुरू भएर ११ वटा ऐतिहासिक स्थल हुँदै ५५ किलोमिटर टाढा देवीघाटमा पुगेर दौड सम्पन्न गरिएको हो ।

अल्ट्रा दौडका लागि पहाडी र हिमाली क्षेत्रको उकालो-ओरालो, वनजंगल, नदीनालालगायतका कारण नेपाल विश्वमै उत्कृष्ट गन्तव्य मानिन्छ । यो भूगोलले स्वदेशीलाई मात्र होइन, विदेशी खेलाडीलाई पनि मोहित बनाउँछ ।

अझ नेपाल एड्भेन्चर रनिङ महासंघले यस पटक अल्ट्रादौड गरेको स्थलसँग नेपालको थुप्रै इतिहास जोडिएको छ । दौड सुरू भएको स्थान नुवाकोटको बेल्कोट गढी तत्कालीन राजा जयप्रकाश मल्लको पश्चिम किल्ला हो ।

गोर्खाका राजा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका हमला गर्नुअघि यही ठाउँमा बसेर योजना बनाएको बताइएको छ । त्यसैगरी पृथ्वीनारायण शाहले नुवाकोटमा विजय प्राप्त गरेपछि केही समय राज्य सञ्चालन गरेको ठाउँ नुवाकोट दरबार, नेपाल र तीब्बतबीच पहिलो सन्धि भएको स्थान बेत्रावती संधिस्थल र पृथ्वीनारायणको मृत्युपछि अन्त्येष्टि गरिएको ठाउँ देवीघाटमा आएर दौड सम्पन्न भयो । 

ऐतिहासिक ठाउँलाई जोडेर गरिएको यो दौडले नेपालको खेलकुद र पर्यटनलाई जोड्न सहयोग पुग्ने बुझाइ बागमती प्रदेश सरकार र स्थानीयको छ । विश्वका अन्य देशमा हुने अल्ट्रा दौडमा धेरै नेपाली खेलाडी आर्थिक अवस्थाकै कारण सहभागिता जनाउन सक्दैनन् । 

त्यसैले नेपालमै यस्ता दौड प्रतियोगिता गर्दा खेलाडीलाई सहयोग मात्र पुग्दैन, ऐतिहासिक पर्यटकीय स्थललाई विश्वमा परिचित बनाउनसमेत मद्दत पुग्नेछ । साहसिक खेलमध्ये नेपालको सम्भावनायुक्त खेलको रुपमा अल्ट्रा दौडलाई लिइन्छ । 

यो खेलले नेपाललाई थुप्रै अन्तर्राष्ट्रिय उपाधिसमेत दिलाइसकेको छ । विश्वका ५० उत्कृष्ठ अल्ट्रा धावकमध्ये १० जना जति त नेपाली नै छन् । सरकार र राष्ट्रिय खेलकुद परिषद्ले अल्ट्रा दौडमा लगानी गर्न सके ओलम्पिकमा समेत नेपालले पदक ल्याउने विश्वास नेपाल एड्भेन्चर रनिङ महासंघले लिएको छ ।

एतिहासिक, सामाजिक र भौगोलिक पक्षलाई उजागर गर्ने महत्वपूर्ण माध्यमको रुपमा रहेको अल्ट्रा दौडलाई सरकारले सहयोग गर्न सके विश्व माझ नेपालको गरिमा बढाउन सहयोग पुग्न सक्छ ।