काठमाडौं । हिमालयन शेर्पा जितपुर सिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सिमरा रङ्गशालामा गएराती भएको खेलमा शेर्पाले ए' डिभीजन लिग प्रतिद्धन्दी फ्रेण्डस क्लबलाई १-० गोलले पराजित गरेको हो ।
खेलको छैटौं मिनटमै विशाल ठकुरी वन भर्सेस वनमा चुकेपछि फ्रेन्डस अग्रता लिनबाट चुकेको थियो । ९औं मिनेटमा भारतीय खेलाडी रोबर्ट खोङजोको गोल मार्फत शेर्पा खेलमा अघि रहेको थियो । यहि गोलनै शेर्पालाई अन्तिम चारमा स्थान बनाउन निर्णायक बन्यो ।
विनु आलेमगरको पासमा रोबर्टको पहिलो प्रहार रोक्ने क्रममा लडेका फ्रेण्ड्सका गोलरक्षक विकेश कुथु सम्हालिन नपाउँदै रिवाउण्डमा रोवर्टले गोल गरेका थिए । उत्कृष्ट खेल प्रदर्शन गरेको फ्रेन्डस फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरीयो ।
यो खेलसँगै सेमीफाइनल समिकरण पुरा भएको छ । आज साँझ हुने पहिलो सेमीफाइनलमा मच्छिन्द्र फुटबल क्लबले चितवनको हनामी विएफसी भरतपुरसँग प्रतिष्पर्धा गर्नेछ । शेर्पा फाइनल प्रवेशका लागि भोली आयोजक नवजनजागृति युवा क्लबसँग भिड्ने छ ।