नेपाल बार निर्वाचन : मतगणना जारी, कांग्रेस र एमालेनिकट कानुन व्यवसायीकाे प्यानललाई अग्रता

चैत्र २६, २०८१ |किरण पौडेल
नेपाल बार निर्वाचन : मतगणना जारी, कांग्रेस र एमालेनिकट कानुन व्यवसायीकाे प्यानललाई अग्रता

काठमाडौं । नेपाल बार एशोसियनको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनको मतगणना जारी छ । साढे ११ बजेसम्मको प्रारम्भिक विवरणमा कांग्रेस र एमालेनिकट कानुन व्यवसायीको प्यानलले अग्रता लिएको छ ।

अध्यक्षमा सत्तापक्षीय नेकपा (एमाले)निकट पीपीएलए र नेपाली कांग्रेस डीएलए गठबन्धनका उम्मेदवार विजयप्रसाद मिश्र अगाडि देखिनुभएको छ। मिश्रले ८ सय ६९ मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै विपक्षी गठबन्धन नेकपा (माओवादी केन्द्र) निकट आरपीएलए र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट स्वतन्त्र कानुन व्यवसायी संगठनको प्यानलका अध्यक्षका उम्मेदवार रमनकुमार श्रेष्ठले ५ सय २९ मत प्राप्त गर्नुभएको छ । 

महासचिवमा पीपीएलए र डीएलए गठबन्धनबाट एमालेनिकट पीपीएलएका केदार कोइरालाको अग्रता छ । कोइरालाले ८ सय ७१ मत प्राप्त गर्दा श्रेष्ठका प्यानलका महासचिवका उम्मेदवार यज्ञमणि न्यौपानेले ४ सय ५६ मत प्राप्त गर्नुभएको छ । 

सबै पदमा सत्ता पक्षीय नेकपा (एमाले)निकट पीपीएलए र नेपाली काङ्ग्रेसनिकट डीएलए गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । देशभर योग्य मतदाता ९ हजार ९ सय ९७ रहेकोमा लगभग ८० प्रतिशत ७ हजार ९ सय ९५ मत खसेको थियो । बारको २५ सदस्यीय नयाँ कार्यसमितिका लागि अध्यक्षमा पाँचसहित ५७ जनाबीच प्रतिस्पर्धा छ ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।