आईपीएल: मुम्बईको वानखेडेमा आरसीबी १० वर्षपछि विजयी

चैत्र २६, २०८१ |खेल ब्युरो
आईपीएल: मुम्बईको वानखेडेमा आरसीबी १० वर्षपछि विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग-आईपीएलमा रोयल च्यालेन्जर्स बैङलुरू, आरसीबीले मुम्बई इण्डियन्सलाई १२ रनले पराजित गरेको छ । आरसीबीले १० वर्षपछि मुम्बईमाथि उसको मैदान वानखेडेमा जीत हात पारेको हो ।

जस्प्रित बुमराहले पुनरागमन गरेको खेलमा हार्दिक पान्ड्याले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिए । आरसीबीले पाँच विकेट गुमाएर दुई सय २१ रनको योगफल बनाएको थियो । ओपनर फिल सल्ट मात्र चार रनमा ट्रेन्ट बोल्टको बलमा आउट भए । 

तर दोस्रो विकेटका लागि विराट कोहली र देवदत्त पाडिकलले ९१ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले । पाडिकल ३७ रनमा मैदान बाहिरिए । कोहलीले ४२ वलमा ६७ रनको योगदान गरे । जारी आइपीएलमा उनको यो दोस्रो अर्धशतक हो । 

लियाम लिभिङस्टनले खाता खोल्न सकेनन् । उनलाई हार्दिकको बलमा बुमराहले क्याच आउट गरेका हुन् । कप्तान रजत पाटिदारले ३२ वलमा ६४ रनको महत्वपुर्ण इनिङस खेले । 

सिजनको तेस्रो अर्धशतक प्रहार गर्ने क्रममा पाटिदारले पाँच चौका र चार छक्का प्रहार गरे । जितेस शर्मा १९ बलमा ४० रन बनाउँदै अविजीत रहे । बोल्ट र हार्दिकले २-२ विकेट लिए । विग्नेस पुथुरको नाममा एक विकेट रह्यो । 

ढाडको चोटका कारण च्याम्पियन्स ट्रफी गुमाएका बुमराह ९३ दिनपछि मैदान फर्किए । विकेट नलिए पनि किफायती बलिङ गरेका उनले चार ओभर बलिङ गर्दै २९ रन दिए । जवाफमा मुम्बइले नौ विकेटको क्षतीमा दुई सय नौ रन मात्र बनाउन सक्यो । 

आक्रमक सुरूवात गरेका रोहित शर्मा यस दयालको बलमा बोल्ड हुँदै १७ रनमा पभेलियन फर्किए । उनले यसअघिको खेल गुमाएका थिए । अर्का ओपनर रायन रेकिल्टन पनि १७ रनमानै मैदान बाहिरिए । विल ज्याकले २२ र सुर्यकुमार यावदले २८ रन जोडे । 

तिलक बर्मा र हार्दिकले एक समय मुम्बईलाई जिततर्फ डोर्याएका थिए । तर ५६ रन बनाएका तिलकलाई भुवनेश्वर कुमारले रोके । ४१ रन जोडेका हार्दिक जस हेजलउडको शिकार भए । नमन धिरले ११ रन जोडे । 

क्रुनाल पान्ड्याले चार ओभरमा ४५ रन दिएर चार विकेट लिए । हेजलउड र यसले २-२ तथा भुवनेश्वर कुमारले एक विकेट लिए । आरसीबीको चार खेलमा यो तेस्रो जीत हो । मुम्बईले भने पाँच खेलमा मात्र एकमा जीत हात पारेको छ । 

आइपीएलमा आज दिउसो पौने चार बजे लखनउ र कोलकात्ता तथा साँझ पौने आठ बजे पञ्जाब र चेन्नइबीच खेल हुनेछ ।