काठमाडौं । सहिद स्मारक बी डिभिजन लिगमा बोइज युनियन क्लबले मध्यपुर युथ एसोसिएसनलाई २-० ले हराएको छ। एन्फा कम्प्लेक्समा जारी लिगमा चन्द्रा भण्डारीको टोली बोइज युनियनले पाँचौ खेलमा पहिलो जित हासिल गरेको हो ।
मध्यपुरलाई हराउने क्रममा बोइज युनियनका विनोद राई र दिव्यविक्रम चौधरीले गोल गरेका हुन्। खेलको २४औं मिनेटमा डिफेन्डरको मार्कमा रहेका सञ्जिव लामाको फितलो प्रहार डिफ्लेक्ट भएको थियो ।
रिबाउन्डमा सञ्जीवले पोस्टको दायाँबाट गरेको प्रहार गोलकिपर माथिबाट पोस्टभित्र पुगेको हो। उनले जारी लिगमा पहिलो गोल गरेका हुन् । यससँगै बोइज युनियनले लिगमा अग्रता बनाएको हो ।
बोइज युनियले यसअघिका चार खेलमा दुई गोल मात्रै गर्न सकेको थियो । ती दुवै गोल सञ्जिवले गरेका थिए। तर आक्रामक रणनीतिका साथ मैदानमा आएको बोइज युनियनले पहिलो हाफमै दोस्रो गोल पनि थप्यो।
विनोदको क्रसमा दिव्यविक्रमले कटब्याक गर्दै बललाई जालीसम्म पुर्याएका हुन् । यता, पहिलो हाफकै इन्ज्युरी समयमा मध्यपुरले फ्रि किकको अवसर पाएको थियो । सजिन थापाको सानदार फ्रि-किक प्रहार गोलकिपर विप्लप गुरूङले मुस्किलले बचाएका थिए।
दास्रो हाफमा दुवै टिमले गोल गर्न नसक्दा बोइज युनियन पहिले तीन अंक बचाउन सफल भयो। लिगको पाँचौ चरण सकिँदा दुवै टिमले १-१ जित हाासिल गरेका छन् भने २-२ हारको सामना गरेका छन्।
यस्तै, बी डिभिजनमा भएको अर्को खेलमा श्री कुमारी क्लबले बाँसबारी क्लबलाई १-० ले हराएको छ। सातदोबाटोमा नै भएको खेलमा श्री कुमारीका लागि यमन महर्जनले ७५औं मिनेटमा गरेको गोल नै निर्णयक बन्यो।
अंकतालिकाको पुछारमा रहेको श्री कुमारीको यो पहिलो जितसमेत हो । उसले आज नै अंकको खाता खोलेको हो। पराजित बाँसबारीले यसअघि नै २ जितसाथ ६ अंक बनाएको छ।