काठमाडौं । अखिल नेपाल फुटबल संघ-एन्फाले ए डिभिजन क्लबलाई सहभागी गराएर लिगकम नकआउट ढाँचाको फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। नेपालमा ए डिभिजन लिग नहुँदा एएफसी कपमा सहभागी हुने टिमको छनोटका लागि एन्फाले विकल्प खोज्न छुट्टै प्रतियोगिता गर्न लागेको हो।
सातदोबाटोको एन्फा कम्प्लेक्समा एन्फा र क्लबको बैठकले आगामी वर्षको बैशाख २० गतेदेखि प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो।
बैठकमा 'ए' डिभिजनका १४ वटा क्लब र एन्फाका प्रतिनिधि सहभागी थिए। यो प्रतियोगिताका विजेताले एसियन फुटबल महासंघ-एएफसीले आयोजना गर्ने क्लब प्रतियोगिता खेल्न पाउनेछन् ।
घरेलु लिगको विजेताले यो प्रतियोगिता खेल्नु पर्ने हो। तर नेपालमा ए डिभिजन लिग आयोजना नै नभएका कारण एएफसी कपमा सहभागी हुनकै लागि मात्र एन्फाले छोटो फरम्याटको प्रतियोगिता गर्न लागेको हो।
एन्फाले प्रतियोगिता यही बैशाख २० गते सुरू गर्ने प्रस्ताव राखेपछि सबै क्लब सहमत भएको एन्फाको भनाइ छ। प्रतियोगिताका लागि बैशाख १० गतेभित्र टोली दर्ता गर्नुपर्ने र न्यूनतम खेलाडी दर्ता बैशाख १५ गतेभित्र सम्पन्न गर्नुपर्ने बैठकमा सहमति भएको छ।
प्रतियोगितासँग सम्बन्धित अन्य विषयमा भने छलफल नभएको एन्फाको भनाइ छ। नेपालमा दुई वर्षदेखि ए डिभिजन लिग सञ्चालन हुन सकेको छैन। यसले गर्दा खेलाडी र फुटबल समर्थकले एन्फाको आलोचना गर्दै आइरहेको छन्।
अहिले बी डिभिजन सुरू भइसकेको अवस्थामा ए डिभिजन लिग आयोजनाको समयमा एन्फाले नयाँ प्रतियोगिताको घोषणा गरेको हो। एन्फाले यो प्रतियोगिताको पुरा मोडेल पनि सार्वजनिक गरेको छैन । यो प्रतियोगिता खेल्न सबै क्लबलाई अनिवार्य नगरिएका कारण क्लब दर्तापछि मात्रै फर्म्याट सार्वजनिक गर्ने प्रवक्ता शुरेस शाहले जानकारी दिएका छन्।