काठमाडौं । इण्डियन प्रिमियर लिग आईपिएलमा लखनउ सुपर जायन्ट्सले पहिलो जित हात पारेको छ । गएराति सम्पन्न खेलमा लखनउले सनराइर्जस हैदराबादलाई ५ विकेटले परजित गरेको हो ।
लखनउको जितमा निकोलस पूरन र मिचेल मार्शले आक्रामक ब्याटिङ गरे । सार्दुल ठाकुरले शानदार बलिङ गरेपछि हैदराबाद २ सय रनको आँकडा पार गर्न असफल भयो ।
राजिव गान्धि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा लखनउले टस जितेर पहिला फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रनको योगफल तयार पारेको थियो ।
खराब सुरुवात गरेको हैदराबादका अभिषेक शर्मा ६ रनमा आउट भए । अघिल्लो खेलमा राजस्थान रोयल्सविरुद्ध शतक बनाएका इशान किशनलाई सार्दुल ठाकुरले गोल्डेन डकआउट गरेपछि हैदराबाद दबाबमा परेको थियो ।
लगातार २ बलमा २ विकेट लिएका सार्दुल हृयाट्रिक नजिक पुगेका थिए । तेस्रो विकेटका लागि ट्राभिस हेड र नितिश कुमार रेड्डीले ३२ बलमा ६१ रनको साझेदारी गरे । सर्वाधिक ४७ रन जोडेका हेडलाई सार्दुललेनै आउट गरे ।
हेनरिक क्लासेन २६ , नितिश कुमार रेड्डी ३२ र अनिकेत बर्माले ३६ रनको योगदान दिए । कप्तान कमिन्सले ४ बलमा ३ छक्काको सहयोगमा १८ रन जोडे । लखनउको लागि शार्दुल ठाकुरले ४, आवेश खान, दिग्वेश राठी, रवि बिष्नोई र प्रिन्स यादवको नाममा समान १-१ विकेट गरे ।
१ सय ९१ रनको लक्ष्य लखनउले २३ बल बाँकी रहँदै ४ विकेट गुमाएर पूरा गर्यो । लखनउका एडन माक्रमले १ रन मात्र बनाएपनि निकोलस पुरनले २६ बलमा ६ छक्का र ६ चौकासहित सर्वाधिक ७० रन जोडे ।
दोस्रो विकेटका लागि मिचेल मार्शसँग पुरनले १ सय १६ रनको शतकीय साझेदारी गरेका थिए । मार्शले ३१ ५२ रन बनाए । कप्तान ऋषभ पन्त १५ रनमा आउट हुँदा अब्बदुल समाद २२ र डेबिड मिलर १३ रनमा अविजित रहे ।
हैदराबादका लागि कप्तान प्याट कमिन्सले २ तथा मोहम्मद सामी, हर्षल पटेल र एडम जाम्पाले समान १-१ विकेट लिए । जितसंगै २ खेलमा १ जित सहित २ अंक जोडेको छ । ऊ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान २ अंक रहेको हैदराबाद छैटौं स्थानमा छ ।