काठमाडौं । लियोन, बायर्न म्युनिख माथि समग्रमा ६-१ गोलको सहज जित हात पार्दै महिला च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश गरेको छ ।
आठ पटकको विजेता लियोनले, पहिलो लेगमा २-० को अग्रता लिएको थियो । गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा उसले बायर्नलाई ४-१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा लियोन १-० गोलले पछि परेको स्थितिबाट खेलमा फर्किएको थियो ।
३३औं मिनेटमा पाहुँना टिमका लागि क्लारा ब्युलले गोल गरेकी थिइन् । तर लियोनले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै चार गोल फर्कायो । ४६औं मिनेटमा मेची डुमोनेले गोल गरेकी थिइन् । ५४औं मिनेटमा कादि दियातु डियानी, ६०औं मिनेटमा ताबिथा चाविङगा र इन्जुरी समयमा एडा हेगरबर्गले गोल गरेका हुन् ।
लियोन च्याम्पियन्स लिगको अन्तिम चारमा पुगेको यो १४औं पटक हो । अब उसले आर्सनलसंग खेल्नेछ । आर्सनलले क्वाटरफाइनलमा रियाल मड्रिडलाई समग्रमा ३-२ गोलले हरायो । गएराति भएको दोस्रो लेगमा आर्सनल ३-० ले विजयी भयो । रियालले पहिलो लेगमा लिएको २-० गोलको अग्रता जोगाउन सकेन् ।
इमिरेट्स स्टेडियममा आर्सनलका लागि एलिसिया रुस्सोले ४६औं मिनेटमा डेडलक तोडि्न । ४९औं मिनेटमा मरियोना र र ५९औं मिनेटमा रुस्सोले पुन गोल गरेपछि आर्सनलले रोमान्चक जितका साथ सेमीफाइनल यात्रा तय गरेको हो ।