काठमाडौं । साविक विजेता कोलकाता नाइट राइडर्सले जारी सिजनको इन्डियन प्रिमियर लिग आइपिएलमा पहिलो जित हात पारेको छ । गएराति भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई आठ विकेटले पराजित गरेको हो ।
गुहाहटीमा कोलकाताले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको थियो । घरेलु टिमले २० ओभरमा नौ विकेट गुमाएर १ सय ५१ रन बनायो । राजस्थानलाई मध्यम स्कोरमा रोक्न कोलकताका स्पिनर मोइन अली र वरुण चक्रवर्तीले उत्कृष्ट बलिङ गरे ।
चोटग्रस्त सुनिल नरायनको स्थानमा मोइन अलीले मौका पाएका थिए । ओपनर संजु सामसन, वैभव अरोराको बलमा १३ रनमा बोल्ड भए । कप्तान रियान पराग २५ र अर्का ओपनर यसस्वी जैसवाल २९ रनमा पवेलियन फर्किएका थिए । वानिन्दु हसरंगा ४ र नितिस राना ८ रनमा मैदान बाहिरिए ।
ध्रुव जुरेलले ३३ र जोफ्रा आर्चरले १६ रन जोडेका थिए । मोइन अलीले चार ओभरमा २३ रन खर्चिएर दुई विकेट लिए । वरुणले दुई विकेट लिने क्रममा मात्र १७ रन दिएका थिए । हषिर्त राना र वैभवले दुई दुई विकेट बाँडे ।
जवाफमा कोलकताले १५ बल अघि दुई विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्यो । ओपनर मोइन चार रनमा रन आउट भएपनि कोलकाता दवावमा आएन । कप्तान अजिंक्य रहाणे १८ रनमा आउट भए ।
क्विन्टन डि ककले अविजीत ९७ रनको शानदार इनिङस खेले । ६१ बल खेलेका उनले आठ चौका र ६ छक्का प्रहार गरे । अगंक्रिस रघुबंशी २२ रनमा अविजीत रहे । कोलकाताले पहिलो खेलमा राजस्थान रोयल्ससंग हार बेहोरेको थियो ।
राजस्थान भने लगातार दोस्रो खेलमा पराजित भयो । आइपिएलमा आज सनराइजर्स हैदराबाद र लखनउ सुपर जायन्टस बीच खेल हुनेछ ।