अर्जेन्टिना फिफा विश्वकप २०२६ का लागि छनोट

चैत्र १३, २०८१ |खेल ब्युरो
अर्जेन्टिना फिफा विश्वकप २०२६ का लागि छनोट

काठमाडौं । अर्जेन्टिना फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ। दक्षिण अमेरिकी छनोटको शीर्षस्थानमा रहेको अर्जेन्टिना आज विहान ब्राजिलसँगको खेलअघि नै विश्वकपमा छनोट भएको हो।

फिफा विश्वकप कोनम्बल छनोट अन्तर्गत आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले ब्राजिललाई ४-१ गोलले हराएको छ। आजको जितसँगै दक्षिण अमेरिकी छनोटको शीर्षस्थानमा रहेको अर्जेन्टिनाले ३१ अंक बनाएको छ।

ब्राजिल २१ अंकका साथ छनोटको चौथो स्थानमा छन्। अर्जेन्टिनाको मास मोनुमेन्टल रंगशालामा अर्जेन्टिनाको जितका लागि जुलियन अल्भारेज, इन्जो फर्नान्डेस, एलेक्सिस म्याक अलिस्टार र गुइलिआनो साइमनले गोल गरेका थिए। घरेलु समर्थकमाझ खेलको चौथो मिनेटमा नै अल्भारेजले गोल गरेर अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।

१२ औं मिनेटमा इन्जो फर्रनान्डेसले गोल गरेर ब्राजिललाई २-० ले पछि पारे। ब्राजिलका लागि २७ औं मिनेटमा माथ्थिउस कुन्वाहाले एक गोल फर्काएका थिए। तर त्यसपछि ब्राजिल फेरि ब्याकफुटमै धकेलियो - जब ३७ औं मिनेटमा एलेक्सिसले अर्जेन्टिनाको लागि तेस्रो गोल गरे।

७१औं मिनेटमा साइमनले गोल गरेर खेललाई ४-१ मा पुर्याएका थिए। त्यसपछि गोल हुन सकेन्। दक्षिण अमेरिकी छनोटमा आज विहान नै भएको खेलमा उरुग्वेले बोलिभियासँग गोलरहित बराबरी खेलेको छ। कोलम्बिया र पाराग्वेले समान २-२ गोल गरेका थिए। अहिलेसम्म फिफा विश्वकपमा सात टोलीले आफ्नो स्थान पक्का गरिसकका छन्।

अमेरिका, क्यानडा र मेक्सिको आयोजकका रुपमा छनोट भएका छन्। एसियाली छनोटबाट जापान र इरानले विश्वकपका स्थान बनाएका छन्। त्यसैगरी, न्युजिल्यान्डले पनि विश्वकपमा स्थान बनाएको छ। ४८ टोली सहभागी हुने विश्वकपमा छनोट हुने ४१ टिमको टुंगो लाग्न बाँकी छ।