आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरूको विजयी सुरुवात

चैत्र १०, २०८१ |खेल ब्युरो
आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरूको विजयी सुरुवात

काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलुरूले इन्डियन प्रिमियर लिग आईपीएलमा विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न उद्घाटन खेलमा बैंगलुरुले साविक विजेता कोलकाता नाइट राइडर्सलाई सात विकेटले पराजित गरेको हो । आरसीबीले केकेआरलाई तीन वर्षपछि हराएको हो ।

बैंगलुरुको जितमा विराट कोहली र फिल साल्टले अर्धशतकीय पारी खेले भने क्रुणाल पाण्ड्याले उत्कृष्ट बलिङ गरे । इडन गार्डेनमा आरसीबीले टस जितेर फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७४ रनको योगफल बनाएको थियो ।

कोलकाताका लागि कप्तान अजिक्या राहाणेले सर्वाधिक ५६ रन जोडे । दोस्रो विकेटका लागि सुनिल नारायण र राहाणेले एक सय तीन रनको शतकीय साझेदारी गरे । सुनिलले ४४ रनको योगदान दिए । 

मध्यक्रमका ब्याटर नचल्दा केकेआरले ६७ रन जोड्दा ७ विकेट गुमाएको थियो । बैंगलुरूका लागि क्रुणाल पाण्ड्याले कु्रनाण पाण्ड्याले तीन, जोस हेजलवुडले दुई, यश दयाल, रसिक सलाम र सुयस शर्माले समान एक-एक विकेट लिए ।

एक सय ७५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको आरसीबीले १६ ओभर २ बलमा तीन विकेट गुमाउँदै जित हात पार्‍यो । पहिलो विकेटका लागि विराट कोहली र फिल साल्टले ९५ रनको साझेदारी गरेका थिए । 

साल्ट ३१ बलमा ९ चौका र २ छक्काको मद्दतमा ५६ रन बनाउँदै आउट भए । देवदत्त पटिकल १० रनमा मैदान बाहिरिँदा कप्तान रजत पाटीदार १६ बलमा पाँच चौका र एक छक्काको सहयोगमा ३४ रनमा आउट भए । विराट कोहलीले नट आउट रहँदै सर्वाधिक ५९ रन जोडे ।

उनले ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । लियम लिभिङ्स्टोनले पाँच बलमा १५ रन बनाउँदै नटआउट रहे । कोलकाताका लागि बैभव अरोरा, वरुण चक्रवर्ती र सुनिल नारायणको नाममा समान एक-एक विकेट रह्यो । 

सहज जितसँगै नेट रन रेट बनाएको आरसीबीले पहिलो खेलबाट २ अंक जोडेको छ । आईपीएलमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स तथा चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।