
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सूची पठाउन ताकेता गरेसँगै प्रमुख दलहरू आन्तरिक छलफलमा व्यस्त भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनको मत परिणामअनुसार समानुपातिक सांसदहरूका नामलाई अन्तिम रूप दिन आइतबार सचिवालय बैठक बोलाएको छ । रास्वपाले सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह समानुपातिक सांसद र सरकार गठनबारे आन्तरिक छलफलमा हुनुहुन्छ ।
दुवै नेता समानुपातिकको सूचीसँगै सरकार गठनअघि रास्वपाको संसदीय दलको विधान संशोधन र सरकारको आकारलगायतका विषयमा पनि परामर्शमा हुनुहुन्छ । यता संसद्मा दोस्रो ठूलो दल नेपाल कांग्रेसले पनि समानुपातिक सूची तय गर्न आन्तरिक गृहकार्य थालेको छ ।
कांग्रेसले पनि समानुपातिक सांसदको सूची बनाउने र संसद्मा आफ्नो भूमिकालगायतका विषयमा छलफल गरिरहेको छ । निर्वाचन परिणाम सार्वजनिक भएपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आफ्नो दलले प्राप्त गरेको सिट संख्याका आधारमा समानुपातिक सूची तय गर्ने बताइएको छ ।
यस्तै नेकपा एमाले सचिवालय बैठक शनिबार बस्दै छ । पार्टी अध्यक्ष केपी ओली निवास गुण्डुमा बस्ने बैठकमा समानुपातिकतर्फबाट निर्वाचित सांसदको नाम टुंगो लगाउने र निर्वाचनको समीक्षा गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म आचार्यले जानकारी दिनुभयो ।