इंग्लिस प्रिमियर लिग: न्युक्यासल युनाइटेडसँग वेस्ट ह्याम पराजित

फाल्गुन २७, २०८१ |खेल ब्युरो
इंग्लिस प्रिमियर लिग: न्युक्यासल युनाइटेडसँग वेस्ट ह्याम पराजित

काठमाडौै । इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडले वेस्ट ह्यामलाई १-० गोलले पराजित गरेको छ । जितसँगै न्युक्यासलको च्याम्पियन्स लिग छनोटको आशा बलियो बनाएको छ ।

लन्डन स्टेडियममा भएको कडा प्रतिस्पर्धात्मक खेलमा ब्रुनो गिमारेसको एकमात्र गोल नै निर्णायक बन्यो । यो खेल न्युक्यासलका लागि आगामी आइतबार लिभरपुलविरुद्ध हुने इएफएल कप फाइनलको तयारीसमेत थियो ।

६१औँ मिनेटमा वेस्टह्यामका म्याक्स किलम्यानबाट आत्मघाती गोल हुन लागेको थियो । त्यसलाई गोलरक्षक अल्फोन्स एरियोलाले शानदार बचाउ गरेका थिए । तर, दुई मिनेटपछि हार्भी बात्र्सको क्रसमा गिमारेसले उत्कृष्ट भली गोल गरे ।

एडी हाउको टिमले बाँकी समय सहजै नियन्त्रणमा राख्दै जित सुनिश्चित गर्‍यो । पछिल्लो पाँच प्रिमियर लिग खेलमध्ये न्युक्यासलका लागि यो दोस्रो जित हो ।

जितसँगै न्युक्यासल लिगको छैटौँ स्थानमा उक्लिएको छ । २८ खेलमा ४७ अंक जोडेको न्युक्यासल चौथो स्थानको चेल्सीभन्दा मात्र दुई अंकले पछि छ । ग्राहम पोटरको टोली वेस्टह्याम ३३ अंकसहित १६औँ स्थानमा छ ।



Enter Kantipur TV HD
Advertisement