पर्यटनमन्त्री पाण्डे जर्मनीमा ‘टुरिजम मिनिस्टर अफ दी एयर’ बाट सम्मानित

फाल्गुन २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
पर्यटनमन्त्री पाण्डे जर्मनीमा ‘टुरिजम मिनिस्टर अफ दी एयर’ बाट सम्मानित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई ‘टुरिजम मिनिस्टर अफ दी एयर’ अवार्ड प्रदान गरिएको छ ।

जर्मनीको बर्लिनमा आयोजित विश्वकै ठूलो इन्टरनेशनल टुरिजम बोर्सी (आईटीबी) बर्लिन २०२५ मा मन्त्री पाण्डेलाई वर्षको उत्कृष्ट पर्यटनमन्त्रीबाट सम्मान गरिएको हो ।

पर्यटनसँग सम्बद्ध विश्वका करीब पाँच हजार भन्दा बढी स्टल र सयौंको संख्यामा सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिको सहभागिता रहेको ’वल्ड टुरिजम एण्ड एभिएसिन समिट–२०२५’ को अवसरमा मन्त्री पाण्डेलाई हिमालयन क्षेत्रबाट ’टुरिजम मिनिस्टर अफ द एयर’ अवार्ड प्रदान गरिएको हो । यस किसिमको पुरस्कार पाउने उहाँ नेपालको पहिलो पर्यटनमन्त्री हुनुहुन्छ ।

कार्यक्रम बर्लिनमा प्यासिफिक एरिया ट्राभल राइटर्स एसोसियसन (पाटवा) ले आयोजना गरेको हो । मन्त्री पाण्डेले नेपालको पर्यटन क्षेत्रको सुधारमा छोटो समयमा गरेको नीतिगत सुधार, सरकारको कार्यसम्पादन उत्कृष्ट अंक हासिल गरेको तथा पर्यटन ऐन तर्जुमा लगायतका नीतिगत सुधारका उल्लेखनीय काम गरे वापत सो पुरस्कार प्रदान गरिएको दाबी गरिएको छ । सन् १९९९ देखि आईटीबी बर्लिनको वार्षिक समारोहमा प्रदान गरिँदै आएको यो अवार्ड पर्यटन क्षेत्रमा विशेष योगदान गरेको मुलुकका पर्यटनमन्त्री प्रदान गर्ने गरिन्छ ।

अवार्ड ग्रहण गरेपछि प्रतिक्रिया दिँदै मन्त्री पाण्डेले यस उपलब्धिलाई व्यक्तिगतभन्दा पनि नेपालकै पर्यटन क्षेत्रका लागि ठूलो सम्मानका रूपमा लिनुपर्ने बताउनुभयो । ‘पाटवाबाट यो प्रतिष्ठित अवार्ड ग्रहण गर्नपाउनु खुसीको कुरा हो । यो अवार्ड मेरो मात्र होइन, नेपालको पर्यटन क्षेत्र र यसलाई विश्वस्तरमा स्थापित गर्न अहोरात्र मिहिनेत गरिरहेका सम्पूर्ण सरोकारवाला निकायलाई गरिएको सम्मान हो । यो अवार्डले हामीलाई अझ दिगो र समावेशी पर्यटनका क्षेत्रमा थप काम गर्न प्रेरित गरेको छ,’ उहाँले भन्नुभयो ।

मन्त्री पाण्डेले प्रविधिको विकाससँगै आएको आर्टिफिसियल इन्टेलिजेन्सले पर्यटन क्षेत्रमा ठूलो योगदान गरिरहेकोसमेत बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement