काठमाठौं । काठमाडौंबाट १ सय ४९ यात्रु बोकेर दुबईका लागि बुधबार राति उडेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज भैरहवामा ग्राउन्डेड भएको छ ।
६ दिनअघि चीनबाट ६ करोड ६८ लाख रुपैयाँ खर्च गरेर फाइभ-सि-चेक गरेर ल्याइएको नेपाल वायुसेवा निगमको सगरमाथा न्यारोबडी जहाजमा समस्या देखिएपछि ग्राउन्डेड भएको हो ।
हिजो राति साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा हुँदै दुबई जाने तालिका थियो । भैरहवामा सवा ११ बजे राति अवतरण भएको जहाज त्यहाँबाट दुबई जाने यात्रु थपेर उड्नुपर्ने थियो । तर, जहाजमा इन्जिनको गति तीव्र हुने समस्या देखिएपछि चालकदल र जहाजमा भएका इन्जिनियरले यो विमानलाई मर्मत गरेरमात्रै उडाउने भन्दै राति १ बजे ग्राउन्डेड गरेका थिए ।
भैरहवामा निगमका २ जनामात्रै कर्मचारी भएकाले राति अध्यागमन कार्यालयका घर गइसकेका कर्मचारीलाई बोलाएर यात्रुहरूलाई बिहान ४ बजेसम्म विभिन्न होटलमा लगेर बसाइएको थियो ।
निगम स्रोतका अनुसार काठमाडौंबाट उड्नुअघि जहाजको फ्युल मिटर बदलेर करिब २ घन्टा ढिलो उडाइएको थियो ।