च्याम्पियन्स ट्रफीको समूह चरणबाटै बाहिरियो इङ्ल्यान्ड, अफगानिस्तानको सेमिफाइनल सम्भावना कायमै

फाल्गुन १५, २०८१ |खेल ब्युरो
च्याम्पियन्स ट्रफीको समूह चरणबाटै बाहिरियो इङ्ल्यान्ड, अफगानिस्तानको सेमिफाइनल सम्भावना कायमै
काठमाडौं । अफगानिस्तानले आईसीसी च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्डमाथि ८ रनको रोमाञ्चक जित हात पारेको छ । यो हारपछि उपाधि दाबेदार इङ्ल्यान्ड समूह चरणबाटै बाहिरिएको छ । अफगानिस्तानका लागि इब्राहिम जद्रानले शतकीय पारी खेल्दा अज्मातुल्लाह ओमरजाइले पाँच विकेट लिएका थिए । 

पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा गए राति सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर ३२५ रन बनाएको थियो । अफगानिस्तानले ३७ रनमा ३ विकेट गुमाएको खराब स्थितिबाट पुनरागमन गरेको हो । ओपनर रमानुल्लाह गुरबाज ६ रनमा जोफ्रा आर्चरको बलमा बोल्ड भएका थिए भने सेदिकुल्लाह अतल पनि मात्र ४ रनमा आउट भए । रहमत साहले ४ रन जोडे । तर चौथो विकेटका लागि जद्रान र हस्मातुल्लाह साहिदीले १०३ रनको साझेदारी गर्दै पारी सम्हालेका थिए । 

कप्तान साहिदी ४० रनमा मैदानबाट बाहिरिए । ओमरजाइले ४१ रनको योगदान गरे । त्यसपछि जद्रान र मोहम्म नाबीबीच छैटौं विकेटका लागि १११ रनको साझेदारी भएपछि अफगानिस्तानले बलियो लक्ष्य प्रस्तुत गरेको थियो । जाद्रन १७७ रनमा लियाम लिभिङस्टोनको बलमा क्याच आउट भएका थिए । च्याम्पियन्स ट्रफीमा जाद्रन अफगानिस्तानका लागि शतक बनाउने पहिलो खेलाडी हुन् । यस्तै उनले च्याम्पियन्स ट्रफीमा सर्वाधिक रन बनाउने खेलाडीमा इंङ्ल्यान्डका बेन डकलाई उछिने । नाबीले ४० रन थपे । 

आर्चरले ३ र लिभिङस्टोनले २ विकेट लिए । जवाफमा इङ्ल्यान्डलाई अफगानिस्तानले ४९ ओभर ५ बलमा ३१७ रनमा अल आउट गर्‍यो । डकेट र कप्तान जस बटलर ३८-३८ रनमा आउट भए । जो रूटले १२० रन प्रहार गरे पनि जितका लागि पर्याप्त भएन । रूट आउट हुँदा इङ्ल्यान्डलाई २६ बलमा ३९ रन आवश्यक थियो । तर अफगानी बलरले शानदार प्रदर्शन गरे । इंग्ल्यान्डलाई अन्तिम १४ बलमा जितका लागि १७ बल आवश्यक रहदा ३ विकेट हातमा थियो । तर ओमरजाइले जेम्मी ओभरटनलाई ३२ रनमा आउट गरे । उनैले राशीद आदिलको विकेट लिँदै अफगानिस्तानको सेमिफाइनल सम्भावना जीवितै राखे । 

समूह ‘बी’ मा दक्षिण अफ्रिका दुई खेलबाट चार अंक जोड्दै शीर्ष स्थानमा छ । दोस्रो स्थानको अस्ट्रेलियाको ३ र अफगानिस्तानको २ अंक छ । अब अफगानिस्तानले अस्ट्रेलियालाई हराए अन्तिम चारमा पुग्नेछ ।



Enter Kantipur TV HD
Advertisement