इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुल र एस्टन भिल्लाको रोमाञ्चक बराबरी

फाल्गुन ८, २०८१ |खेल ब्युरो
इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुल र एस्टन भिल्लाको रोमाञ्चक बराबरी

काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले एस्टन भिल्लासँग २-२ को रोमाञ्चक बराबरी खेलेको छ। भिल्ला पार्कमा भएको खेलमा ट्रेन्ट एलेक्जेन्डर अर्नोल्डले गोल गरेपछि लिभरपुल हारबाट जोगिएको हो । यससँगै लिभरपुलले दोस्रो स्थानको आर्सनलसँग अंकको दूरी आठ अंकमा पुर्‍याउन सफल भएको छ ।

लिभरपुलले गत सेप्टेम्बरमा नटिङ्घम फरेस्टसँग एनफिल्डमा १-० ले हार ब्यहोरेपछि लिगमा पराजित भएको थिएन। तर, भिल्लाविरुद्धको खेलमा अस्थिर डिफेन्स र फिनिसिङको अभावका कारण हारको नजिक पुगेर बरबरीमा पुनरागमन गरेको हो ।

खेलको २९औं मिनेटमा मोहम्मद सालाहले लिभरपुललाई अग्रता दिलाएका थिए । उनले त्यसअघि एक पटक गोल गर्ने अवसर गुमाएको भए पनि डिओगो जोटाको पासमा लिभरपुललाई अग्रता दिलाउन सफल भए । तर यौरी टिलेमान्स र ओल्ली वाट्किन्सले गोल गर्दै भिल्लालाई अग्रतामा पुर्याएका थिए । रासफोर्डको फ्रिकिक क्लियर गर्न नसक्दा टिलेमान्सले गोल गरे। 

पहिलो हाफको इन्जुरी समयमा लुकास डिन्येको उत्कृष्ट क्रसमा वाट्किन्सले गोल गर्दै भिल्लालाई २-१ को अग्रता दिलाए। दोस्रो हाफमा लिभरपुलले पुनः खेलमा फर्कने अवसर पायो। ६१ औं मिनेटमा ट्रेन्ट अलेक्जान्डर अर्नोल्डले बराबरी गोल गर्दै लिभरपुललाई बचाएका हुन्। जोटाले पोस्टमा प्रहार गरेको बल बाहिरिए पनि, सालाहको पासमा अलेक्जान्डर-अर्नोल्डले गोल गर्दै खेल बराबरी गरे। खेलको ६९औं मिनेटमा डार्विन नुनेजले पाँच यार्डबाट उत्कृष्ट अवसर गुमाए। उता, भिल्लाका ज्याकब राम्सेको गोल अफसाइडको कारण अस्वीकृत भएको थियो।

यो नतिजासँगै दोस्रो स्थानको आर्सनलसँग अंकको अन्तर बढाएको लिभरपुलले अब आइतबार म्यानचेस्टर सिटीको सामना गर्नेछ। सिटीसँगको खेल उपाधि दौडका लागि निर्णायक बन्न सक्ने आँकलन गरिएको छ। यता शनिबार आर्सनलले वेष्ट ह्यामको सामना गर्दैछ। एस्टन भिल्लाले यस खेलमा मार्कस रासफोर्डलाई पहिलोपटक सुरुआती ११ मा राखेको थियो। घरेलु टोलीका लागि रासफोर्डले राम्रो प्रदर्शन गरे, तर उनको क्रसमा भर्जिल भान डाइकले आत्मघाति गोल गरे पनि रेफ्रीले अफसाइड निर्णय दिइएका थिए।

यो बराबरीका बाबजुद लिभरपुलले लिगको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ भने एस्टन भिल्ला नवौं स्थानमा यथावत् रहेको छ।



Enter Kantipur TV HD
Advertisement