काठमाडौं । होबर्ट हुर्काज र कार्लोस अल्काराजले रोटरड्याम टेनिसको सेमिफाइनलमा स्थान पक्का गरेका छन् । गएराति भएको खेलमा हुर्काजले एन्डी रुबलेभलाई २-१ सेटमा हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् ।
हुर्काज क्वार्टरफाइनलको पहिलो सेटमा टाइब्रेकरमा पराजित भएका थिए । प्रतिस्पर्धात्मक खेल ७-६ को स्कोरसँगै टाइ भएको थियो । टाइब्रेकरमा हुर्काजविरुद्ध एन्डी रुभलेभले ७-५ को जित दर्ता गरे ।
पहिलो सेटमै पछि परेका हुर्काजले त्यसपछिका दुई सेटमा जित निकाले । दोस्रो सेटमा हुर्काजले ६-३ को जित दर्ता गरे भने तेस्रो सेटमा उनी ६-४ ले विजयी भए । हुर्काजले अन्तिम १६ को खेलमा जे लेहेकालाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएका थिए ।
यसैगरी, गएराति नै भएको अर्को क्वार्टरफाइनलमा स्पेनका कार्लोल अल्काराजले आफ्नै देशका पेड्रो मार्टिनेजलाई हराउँदै सेमिफाइनलमा स्थान बनाए । उनले २-० को सेटमा जित निकाले । दुवै सेटमा उनले एकपक्षीय प्रदर्शन गरे । अल्काराजले पहिलो सेट ६-२ ले जिते । दोस्रो सेटमा मार्टिनेजको खातामा एक अंक मात्रै हुँदा अल्काराजले खेल आफ्नो पक्षमा पारे । अब आइतबार हुने सेमिफाइनलमा अल्काराजले हुर्काजको सामना गर्नेछन् ।