काठमाडौं । त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक महिला टी ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपाल आफ्ना ६ वटै खेल हारे पनि केही युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गरे । नेपालको बलिङ र ब्याटिङमा केही सुधार देखिए पनि फिल्डिङमा भने कमजोरी रह्यो ।
सिरिजमा नेपालको समग्र प्रदर्शन हेर्दा खेलाडीले फिटनेसमा सुधार गर्नुपर्ने महसुस भयो भने क्रिकेट संघ (क्यान) ले घरेलु क्रिकेटलाई विस्तार गर्दै खेलाडीहरूलाई निरन्तर अन्तर्राष्ट्रिय एक्सपोजर दिनुपर्ने देखियो ।
नेपाल, थाइल्यान्ड, र नेदरल्यान्ड्स सम्मिलित सिरिजमा एक मात्र खेल हारेको थाइल्यान्ड उपाधि विजेता बन्यो । तर, आयोजक नेपालले एक खेल पनि जित्न सकेन । सिरिजमा केही युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि टिमले समग्रमा अपेक्षित नतिजा निकाल्न सकेन । नेपालको बलिङ र ब्याटिङमा केही सुधार त देखियो । तर, फिल्डिङमा भने कमजोर रह्यो ।
सिरिजमा सहभागी तीन वटै टिमको ब्याटिङ र बलिङ स्तर एकनासको रहे पनि फिटनेसका कारण दुवै टिम नेपालभन्दा बलिया देखिए ।
फिल्डरहरूको सामान्य प्रयासको अभावका कारण टिम जित नजिक पुगेर पनि हार्न बाध्य भयो । सिरिजका दौरान मुख्य प्रशिक्षक मनोज कटुवाल र कप्तान इन्दु बर्माबीच विवाद सार्वजनिक भयो । इन्दुले टिमको प्रदर्शनमा सुधार ल्याउन महिला टिमका लागि दक्ष विदेशी प्रशिक्षकको आवश्यकता रहेको बताउँदा प्रशिक्षक कटुवालले खेलाडीको क्षमतामा प्रश्न उठाए ।
यस सिरिजमा केही युवा खेलाडीले भने आफूलाई प्रमाणित गरे । पूजा महतो नेदरल्यान्ड्स विरुद्ध अर्धशतक प्रहार गर्दै सिरिजमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बन्न सफल भइन् । डेब्यू सिरिजमा स्पिनर मनीषा उपाध्यायले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै विपक्षी टोलीलाई दबाबमा राख्न सफल भइन् ।
लामो समयपछि घरेलु मैदानमा खेलेको टिमलाई समर्थकहरूको राम्रो साथ पनि रह्यो । क्यानले टिमको फिल्डिङमा सुधार ल्याउन प्रशिक्षण कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ ।
क्यानले अब संरचनागत सुधार र खेलाडीलाई आवश्यक सहयोग प्रदान गर्नुपर्ने देखिन्छ भने प्रशिक्षकले टिम व्यवस्थापनमा सुधार गर्दै रणनीतिक समन्वय मजबुत बनाउन आवश्यक छ । आत्मविश्वास र निरन्तर मिहिनेत गरेर टिमलाई सफल बनाउने दायित्व खेलाडीहरूकै हो ।