महिला टी ट्वेन्टी सिरिज : अपराजित थाइल्यान्डसँग नेदरल्यान्ड्स १७ रनले पराजित

माघ २१, २०८१ |खेल ब्युरो
महिला टी ट्वेन्टी सिरिज : अपराजित थाइल्यान्डसँग नेदरल्यान्ड्स १७ रनले पराजित

काठमाडौं । महिला टी ट्वेन्टी अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृङ्खलामा थाइल्यान्डले लगातार तेस्रो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले पराजित गरेको हो ।

यस प्रतियोगितामा अपराजित थाइल्यान्डले पहिलो इनिङमा कमजोर ब्याटिङ गरेर नेदरल्यान्ड्सलाई ८७ रनको लक्ष्य प्रदान गरेको थियो । जवाफमा नेदरल्यान्ड्स ६९ रनमै अलआउट भयो ।

टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको थाइल्यान्डले एक बल बाँकी रहँदा सबै विकेट गुमाएर ८६ रन बनायो । थाइल्यान्डका नताया बोचाथम १, अफिसरा ८, नन्नापाट कोन्चारोएन्काई ५ र नरुमोल चाइवाई ८ रनमा आउट भए । नेदरल्यान्ड्सकी इभा लिन्चले शानदार बलिङ गरेर शीर्षक्रमका दुई विकेट लिएकी थिइन् । त्यसपछि पनि थाइल्यान्डका ब्याटरले लामो साझेदारी गर्न सकेनन् । फनिता माया १२ रनमा आउट हुँदा चनिदा सुथिरुङले २७ रन बनाउन सकिन् । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेदरल्यान्ड्सका इरिस ज्वेलिङ र सिल्भर सिजरले दुई दुई विकेट लिए भने इसाबेल भान डरको नाममा एक विकेट रह्यो ।

जवाफी ब्याटिङमा कमजोर बनेपछि नेदरल्यान्ड्स १५ ओभर पाँच बलमा सबै विकेट गुमाएर ६९ रनमा समेटिएको थियो । यसक्रममा उसले ८ रन बनाएको अवस्थामा पहिलो विकेट गुमायो । फेबे व्यक्तिगत सात रन बनाएर आउट भइन् । स्टेर कालिस ७, रोविन रिके र हेथर सिजर शून्यमै बाहिरिए । तीव्र गतिका बलर चनिदा सुथिरुङ र थिपाचा पुथावङले थाइल्यान्डलाई शानदार सुरूआत दिलाउँदा नेदरल्यान्ड्सले २१ रन बनाएको अवस्थामा चौथो विकेट गुमाएको हो ।

ब्याट डे लिडले २५, इरिस ज्वेलिङले १३ र क्यारोलिन डि ल्याङले १० रन जोड्नु बाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन् । थाइल्यान्डका पुथावङ र काम्चोम्फूले समान तीन तीन विकेट आफ्नो नाममा गरेका थिए । सिरिजमा भोलि नेपालले शीर्षस्थानको थाइल्यान्डको सामना गर्नेछ । तीन खेलमा थाइल्यान्डले ६ अंक बनाउँदा नेदरल्यान्ड्सले चार खेलमा ४ अंक जोडेको छ । आयोजक नेपाल अंकविहीन छ ।