महिला टी-२० आई त्रिकोणात्मक सिरिजमा आज नेदरल्यान्ड्‌स र थाइल्यान्ड भिड्दै

माघ २१, २०८१ |खेल ब्युरो
महिला टी-२० आई त्रिकोणात्मक सिरिजमा आज नेदरल्यान्ड्‌स र थाइल्यान्ड भिड्दै

काठमाडौं । महिला टी-ट्वेन्टी आई त्रिकोणात्मक सिरिजमा आज दुई भ्रमणकारी टिम नेदरल्यान्ड्‌स र थाइल्यान्ड आमनेसामने हुँदैछन् । थाइल्यान्ड सिरिजमा अपराजित छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल मध्याह्न सवा १२ बजे सुरू हुनेछ । थाइल्यान्ड आफ्नो तेस्रो खेल खेल्दैछ । यसअघिका दुई खेलमा सतप्रतिशत नतिजा निकालेको नारोइमोल चाइवाइको टिम चार अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।

जारी सिरिजमा उसले डच टिमसँगको पहिलो खेलमा ८ विकेटको सहज जित हात पारेको थियो । उक्त खेलमा पहिले ब्याटिङ गरेको नेदरल्यान्डस्‌ले कप्तान बेबेत द लेदको अर्धशतकको मद्दतमा ६ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो । जवाफमा थाइल्यान्डले दुई ओभर बाँकी रहँदै दुई विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

थाइल्यान्डकी नन्नापाट उत्कृष्ट फर्ममा छिन् । उनले दुवै खेलमा अर्धशतक प्रहार गरेकी छिन् । तर नेपालसँगको खेलमा चोटग्रस्त बनेकी नन्नापाट पूर्ण फिट छन् की छैनन् भन्ने जानकारी टिमले दिएको छैन् । स्पीन अट्याक्टमा पनि उत्कृष्ट रहेको थाइल्यान्ड लगातार तेस्रो जितको खोजीमा छ ।

हिजो भएको खेलमा नेपालमाथि १५ रनको जित हात पार्दै नेदरल्यान्डस्‌ले सिरिजमा पुनरागमन गरेको छ । उसका सामु थाइल्यान्डसँग पहिलो खेलमा बेहोरेको हारको बदला लिने अवसर छ । थाइल्यान्डले सबै प्रतिस्पर्धामा गरी पछिल्ला पाँच खेलमा हार बेहोरेको छैन ।