काठमाडौं । पाँचौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फको उपाधि आयोजक टाइगर ग्रुपले जितेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा आज भएको फाइनलमा आयोजक टाइगर ग्रुपले विभागीय टिम एपीएफ क्लबमाथि पाँच सेटको रोमाञ्चक जित हात पारेको हो ।
पहिलो सेट १७-२५ ले गुमाएको टाइगरले अन्तिम समयसम्म प्रतिस्पर्धा गर्दै उपाधि उचालेको हो । प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट २९-२७ ले जित्दै घरेलु टिमले पुनरागमन गरेको थियो । तेस्रो सेटमा पुन एपीएफ २५-२१ को जितका साथ खेलमा फर्किएको थियो । चौथो सेट टाइगरले २५-१६ ले आफ्नो पक्षमा पारेपछि खेल लम्बिएको थियो ।
पाँचौं सेटमा १५-१३ ले एपीएफलाई पराजित गर्दै टाइगर ग्रुप पहिलो सहभागितामा नै च्याम्पियन बनेको हो । व्यक्तिगत विधातर्फ एपीएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, उनकै टिम मेट निरुता ठगुन्ना सर्भर, टाइगर ग्रुपका अरुणा शाही सेटर, टाइगरकै नान्तिकान टुनिपो ब्लकर र लिबिरो न्यू डायमण्डकी सलिना श्रेष्ठ घोषित भए ।
विजेता टिमका अर्जुन घिमिरे उत्कृष्ट प्रशिक्षक घोषित भए । टिमलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेकी अम्फा सोमसुरात सर्वोत्कृष्ट खेलाडी बनेकी छिन् ।
त्यसैगरी आजै भएको पुरुषतर्फको फाइनलमा नेपाल पुलिस क्लब विजेता बन्यो । पुलिसले गण्डकी प्रदेशलाई चार सेटमा हराएको हो ।
पुलिसले पहिलो सेट २५-२३ र दोस्रो सेट २५-२१ ले जितेको थियो । तेस्रो सेट गण्डकीले २५-२० ले जित्यो । तर पुलिसले चौथो सेटमा नै खेल आफ्नो बनायो । प्रतियोगितामा पुलिसका पहल गहतराज सर्वोत्कृष्ट बने । उत्कृष्ट स्पाइकर गण्डकीका रमन कुमार, सर्भर गण्डकीकै सञ्जुकुमार शाह, सेटर विवश आलेमगर, ब्लकर पुलिसका रविन नगरकोटी, लिबेरो आर्मीका इश्वर थापा र प्रशिक्षक पुलिसकै चन्द्र कुँवर बने ।
दुवैतर्फका विजेताले पाँच लाख ८५ हजार पाँच ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । उपविजेता गण्डकी र एपीएफले दुई लाख ८५ हजार ५५५ रुपैयाँ हात पारे । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलामा न्यु डाइमन्डले तेस्रो स्थान प्राप्त गरे ।