कैलाली । धनगढीमा भोलिदेखि सुरु हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।
आयोजक 'गो ड्रिमर्स'ले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका लागि सबै तयारी पूरा भएको जनाएको हो । नेपाल क्रिकेट संघ क्यानको वार्षिक क्यालेन्डरमा समावेश भएको प्रतियोगिता धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भोलिदेखि माघ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता स्थल फाप्ला अन्तर्राष्ट्रिय मैदानमा चार वटा पिच निर्माण गरिएका छन् । गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले मैदानमा दर्शकलाई बस्नका लागि अस्थायी प्याराफिट समेत निर्माण गरिएको जनाउनु भयो ।
भोलि दिउँ सवा १२ बजे हुने उद्घाटन खेलमा डीसीए धनगढी र फ्रेन्ड्स क्लब डडेल्धुराबीच प्रतिस्पर्धा हुनेछ । धनगढीबाट ललीत राजवंशी, लोकेश बम, नारायण जोशी, अमित श्रेष्ठ लगायतका खेलाडी मैदान उत्रिँदैछन् ।
यस्तै, डडेल्धुराबाट कुशल भुर्तेल, सन्दीप जोरा, विनोद भण्डारी, हेमन्त धामी लगायतका खेलाडीले खेल्नेछन् ।
प्रतियोगितामा देशभरिबाट ८ वटा टीम सहभागी भएका छन् ।
दूई समूहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा आयोजना हुने प्रतियोगिताको समूह 'ए'मा धनगढी, डडेल्धुरासँगै घोडाघोडी–११ सुख्खड र बोष्टन क्रिकेट झापा रहेका छन् ।
यस्तै, समूह 'बी'मा सीवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं, न्यु होराइजन वुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन् ।
अर्जुन ट्रफीमा करिब २० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीका रुपमा टी–२० प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई एक लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही ५०-५० हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ । प्रतियोगितामा पहिलो क्याच गर्ने दर्शकले नगद एक लाख पुरस्कार पाउने भएका छन् ।