घरेलु मैदानमा महिला क्रिकेटको परीक्षण

टी ट्वेन्टी अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा आज नेपाल र नेदरल्यान्डस भिड्ने
माघ १७, २०८१ |विनयज्योति सापकोटा
घरेलु मैदानमा महिला क्रिकेटको परीक्षण

काठमाडौं । नेपालले सन् २००७ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको भए पनि महिला टिमले घरेलु मैदानमा अन्तर्राष्ट्रिय शृंखला आक्कलझुक्कल मात्रै खेल्न पाएको छ । नेपाली महिला क्रिकेटको इतिहासमा घरेलु मैदानमा दोस्रो पटक महिला अन्तर्राष्ट्रिय शृंखला आयोजना हुन लागेको हो । नेपालले शृंखला घरमै राख्ने लक्ष्य राखेको छ ।

नेपालमा पुरुष क्रिकेटको जति चर्चा र चासो हुन्छ महिला क्रिकेट त्यो तहमा पुगिसकेको छैन । यसको कारण घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल नभएर नै हो । आईसीसी र एसीसीका प्रतियोगिता नेपालमा आयोजना नै हुँदैनन् । यसैकारण घरेलु मैदानमा महिलाको अन्तर्राष्ट्रिय क्रिकेटको परीक्षण नै भएको छैन । 

त्यसै कारण नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबारदेखि घरेलु मैदानमा आयोजना गर्न लागेको शृंखलाले नेपाली महिला टिम उत्साहित छ । यसको लागि थाइल्यान्ड र नेदरल्यान्ड्सको महिला टोली नेपाल आइसकेका छन् । नेपालले तीन वर्षअघि युगान्डासँगको शृंखलापछि पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय शृंखला खेल्न लागेको हो ।

“क्रिकेटको क्रेज राम्रोसँग बढिरहेको छ । त्यसमाथि पनि महिला टोलीले राम्रो प्रदर्शन गरिरहनुभएको छ । यो हाम्रो लागि प्लस पोइन्ट पनि हो”, नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले भन्नुभयो ।

भर्खरै मात्रै प्रधानमन्त्री कप महिला क्रिकेट सकिएकाले सबैजसो खेलाडी फिट छन् । यससँगै युवा खेलाडी यो प्रतियोगितालाई लिएर निकै उत्साहित देखिएका छन् । एक-डेढ वर्ष अघिसम्म सीता रानामगर र रुविना क्षेत्रीको प्रदर्शनले मात्रै नेपाली महिला क्रिकेट टिम टिकेको थियो । अहिले भने युवा खेलाडीले पनि जिम्मेवार रूपमा प्रदर्शन गर्दै आइरहेका छन् ।

“डोमेस्टिकमा पनि धेरै कप्तान आइरहनुभएको छ । कविता कुँवर लिडिङमै हुनुहुन्छ, पूजाले विश्वकपमा कप्तानी गरिसक्नुभएको छ । इन्दुले पनि गरिरहनुभएको छ । समग्रमा हेर्दा हाम्रा लागि यो खुशीको कुरा हो । किनकि, लिडर भनेको पफर्मर हो नि त । उसले टिमलाई योगदान गर्नसक्छ भन्ने हुन्छ”, नेपाली महिला क्रिकेट टोलीकी सदस्य रुविना क्षेत्रीले बताउनुभयो ।

प्रशिक्षक मनोज कटुवालले नेपाली टिम सम्हाल्न थालेको लामै समय भयो । कटुवाल यो प्रतियोगितालाई नेपाली महिला क्रिकेट विकासका लागि निकै महत्त्वपूर्ण हुने बताउनुहुन्छ । नेपालभन्दा बलिया र वरीयतामा अघि रहेका टोलीसँग घरेलु मैदानमा खेल्न पाउँदा नेपाललाई आईसीसी र एसीसीको प्रतियोगितामा मनोबल उच्च हुने र विश्वकपमा स्थान बनाउनको लागि यहींबाट आधार तयार गर्ने लक्ष्य नेपाली टिमको छ ।

“हामीभन्दा वरीयतामा माथि छन् यी दुवै टिम । विश्वकप छनोट अगाडि यी टोलीसँग खेल्न पाउनु भनेको हाम्रो लागि धेरै राम्रो कुरा हो”, महिला टोलीका मुख्य प्रशिक्षक मनोज कटुवालले भन्नुभयो ।

नेपालीको टिमले दुवै टिमसँग तीन-तीन खेल खेल्नेछ । बिहीबार हुने उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ । खेल दिउँसो सवा १२ बजेबाट सुरू हुनेछ ।

त्यसैगरी, माघ १९ गते नेपालले थाइल्यान्डसँग खेल्नेछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल माघ २० र २३ गते पनि हुनेछ । त्यसपछि थाइल्यान्डसँग माघ २२ र २५ गते खेल्नेछ । सबै खेल टी ट्वेन्टी फर्म्याटमा आयोजना हुनेछन् । आईसीसीको विश्व वरीयतामा नेपाल २० औं स्थानमा छ भने नेदरल्यान्ड्स १६ र थाइल्यान्ड १३ औं स्थानमा छ ।

थाइल्यान्डले एक महिनाअघिदेखि भारतमा अभ्यास गरेको छ ।


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement